after_navbar

रक्तदान गर्दै जेसीज सप्ताहको समापन


जेठ ३२, २०८२


दाङ, ३१ जेठ। तुलसीपुर नगर जेसीजको जेसीज सप्ताह २०२५ समापन भएको छ। सामाजिक उत्तरदायित्व अन्तर्गतका विभिन्न कार्यक्रमहरू गरी जेसीज सप्ताह मनाइएको हो। शनिबार रक्तदान कार्यक्रम गरी तुलसीपुर नगर जेसीजले सप्ताहव्यापी कार्यक्रमको समापन गरेको हो।

तुलसीपुर नगर जेसीज वर्ष २०२५ का अध्यक्ष सन्दीप भुसालको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष वीरेन्द्रकुमार शाहको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न गरिएको हो। तुलसीपुर नगर जेसीजको आयोजना र रक्तसञ्चार केन्द्र तुलसीपुरको प्राविधिक सहयोगमा रक्तदान समेत गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि वीरेन्द्रकुमार शाहले सरकारलाई दबाब र चेतावनी दिने खालका कार्यक्रमहरू सञ्चालन गर्न जरुरी रहेको बताएका थिए। जनताको सेवाका लागि खटिएका जनप्रतिनिधिहरु स्वयं जनप्रतिनिधिहरुबाटै हेपिनु परेको भन्दै त्यसको खबरदारी आवश्यक रहेको उनले बताए। वर्तमान समाजमा जनप्रतिनिधिहरू स्वयं पनि जनप्रतिनिधिबाटै दबिइरहेको गुनासो गर्दै जनसरोकारका विषयमा खुला छलफल र बहसको खाँचो औँल्याए।

“सरकारलाई दबाब दिने र गल्ती औँल्याउने जिम्मेवारी लिने संस्थाको रूपमा जेसीजले सामाजिक विषयमा आवाज उठाउन जरुरी छ,” उनले भने, “तर बहुमतको आधारमा एजेन्डा पास गर्ने प्रवृत्तिले छलफलको अभ्यास हराउँदै गएको छ। गलत कार्यको विरोधमा यस्ता खाले संस्थाहरू उत्तीर्ण जरुरी छ।”

कार्यक्रममा अध्यक्ष भुसालले नेतृत्व विकास गर्ने संस्थालाई सामाजिक उत्तरदायित्वसँग समेत जोडेर लगिएको बताए। उनले विश्व रक्तदाता दिवसको अवसर पारेर रक्तदान कार्यक्रम आयोजना गरिएको समेत जानकारी गराए। उनका अनुसार जेसीज लगायत अन्य संघ–संस्थामा आबद्ध १४ जनाले रक्तदान गरेका थिए।

कार्यक्रमको स्वागत समापन कार्यक्रमका संयोजक पारस न्यौपानेले गरेका थिए भने साताव्यापी अन्तर्गत भएका गतिविधिहरूको बारेमा जानकारी मूल समिति संयोजक केशवराज न्यौपानेले गराएका थिए। यसैगरी जेसी आस्था पाठ कानुनी सल्लाहकार सुरज भण्डारीले गराएका थिए भने कार्यक्रमको सहजीकरण सनद देवकोटाले गरेका थिए।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="