after_navbar

भूमे पर्वले प्रदेशको सांस्कृतिक पहिचान झल्काउँछ : मुख्यमन्त्री आचार्य


असार ०१, २०८२


दाङ, असार १ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मगर समुदायले प्रमुख रूपमा मनाउने मौलिक भूमे (भूम्या) पर्वको अवसरमा प्रदेशवासीलाई शुभकामना व्यक्त गरेका छन्।

मुख्यमन्त्री आचार्यले जारी गरेको शुभकामना सन्देशमा प्रदेशको विविध संस्कृति, परम्परा र पहिचानलाई समेट्दै यस्ता मौलिक चाडपर्वहरूले सामाजिक सद्भाव र सांस्कृतिक पहिचानको संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने उल्लेख गरिएको छ।

“हाम्रा मौलिक संस्कार, परम्परा, रीतिरिवाज र चाडपर्वहरू सामाजिक र सांस्कृतिक समृद्धिको बलियो आधार हुन्,” सन्देशमा उल्लेख छ, “भूमे पर्व आदिवासी जनजातिको सांस्कृतिक जीवनशैलीसँग गहिरो रूपमा जोडिएको पर्व हो, जसले भूमि, प्रकृति र पूर्वजहरूप्रति सम्मान प्रकट गर्छ।”

मुख्यमन्त्री आचार्यले यस्ता मौलिक चाडपर्वको संरक्षण गर्दै समावेशी विकासमा जोड दिन प्रदेश सरकार प्रतिबद्ध रहेको स्पष्ट पारेका छन्। भूमे पूजाको सांस्कृतिक महत्वलाई सम्मान गर्दै सरकारले रोल्पा, दाङ, रुकुमपूर्व र प्यूठान जिल्लामा असार १ गते आइतबार सम्बन्धित समुदायका लागि सार्वजनिक बिदा दिएको जानकारी पनि सन्देशमार्फत दिइएको छ।

मुख्यमन्त्री आचार्यले भूमे पर्वले समुदायबीच एकता, सहकार्य र प्रकृति संरक्षणप्रतिको चेतना फैलाउने विश्वास व्यक्त गरेका छन्। साथै, पर्व प्रदेशको मौलिकता झल्काउने अमूल्य सांस्कृतिक धरोहरका रूपमा अझ मजबुत रूपमा स्थापित होस् भन्ने कामनासमेत गरेका छन्।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="