after_navbar

बजेट प्रस्तुत हुँदै गर्दा कर्णालीमा योजना बैंक विवादः प्रदेशसभा अनिश्चित


असार ०१, २०८२


सुर्खेत,१ असार । कर्णाली प्रदेशमा बजेट निर्माणको प्रक्रियालाई लिएर विवाद चुलिएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले सरकारमाथि योजना बैंकमार्फत अपारदर्शी तरिकाले बजेट ल्याउन खोजेको आरोप लगाउँदै आज दिउँसो ३ बजे बस्ने भनिएको प्रदेश सभा बैठकमा सहभागी नहुने निर्णय गरेको छ । यससँगै बैठक अनिश्चित बनेको हो ।

माओवादी संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीले ‘योजना बैंक’ को नाममा सरकार एकलौटी ढंगले बजेट निर्माण गर्दै आएको आरोप लगाए । उनले भने, ‘बजेटको आधार मानिएको आयोजना बैंक अहिलेसम्म सार्वजनिक गरिएको छैन । के–कस्ता योजना छन् भन्नेबारे कसैलाई जानकारी छैन ।’

उनका अनुसार जिल्लास्तरीय समितिले सिफारिस गरेका योजना र मन्त्रालयमा पुगेका प्रस्तावहरूलाई बेवास्ता गरिएको छ । उनले बजेट निर्माणलाई ‘अवैध र चोर बाटो’ को संज्ञा दिँदै सरकार आफ्ना निकटका योजनालाई मात्र समावेश गर्न खोजेको आरोप पनि लगाए ।

यसै विवादका कारण कार्य व्यवस्था परामर्श समितिको बैठकसमेत अवरुद्ध भएको छ । ‘यस्तो अपारदर्शी र विवादित पृष्ठभूमिमा तयार भएको बजेटमा हाम्रो स्वामित्व रहँदैन,’ जिसीले भने, ‘यसलाई सदनमा पेस गर्न दिइने छैन ।’

यता, अर्थमन्त्री राजीवविक्रम शाह भने बजेटको ब्रिफकेस बोकेर प्रदेश सभामा पुगिसकेका छन् । तर प्रमुख प्रतिपक्षी दलको असहमति र बहिष्कारपछि बैठक सुरु हुन सकेको छैन । प्रदेश सभा सचिवालयका सूचना अधिकारी राजेन्द्र पौड्यालले पनि केही कुरा नमिलेकाले बैठक स्थगित भएको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="