after_navbar

नेताहरुलाइ गाली गरेको भन्दै टिकटकर रमा बस्नेत पक्राउ


असार ०१, २०८२


काठमाडौँ, १ असार । सामाजिक सञ्जाल टिकटकमा राजनीतिक नेतृत्वप्रति आपत्तिजनक टिप्पणी गरेको र साम्प्रदायिक भावना भड्काएको आरोपमा प्रहरीले एक महिला प्रयोगकर्तालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा खोटाङ हलेसी तुवाचुङ नगरपालिका–६ घर भई हाल भक्तपुरमा बसोबास गर्दै आएकी ३१ वर्षीया रमा बस्नेत रहेकी छन्।

साइबर ब्युरोका एसपी दीपक राज अवस्थीका अनुसार बस्नेतलाई आइतबार पक्राउ गरिएको हो। उनीविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा अनुसन्धान थालिएको छ। अदालतबाट तीन दिनको म्याद लिएर अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानमा बस्नेतले आधारहीन आरोप लगाउँदै प्रतिष्ठित राजनीतिज्ञहरूलाई गालीगलौज गर्ने तथा टिकटक लाइभमार्फत मधेसी समुदायप्रति अपमानजनक टिप्पणी गर्ने गरेको पाइएको छ।

ब्युरोका अनुसार उनले नियोजित रूपमा सामाजिक सञ्जालमा संवेदनशील विषयवस्तुहरू राखेर जातीय द्वन्द्व निम्त्याउने, व्यक्तिको चरित्र हत्या हुने खालका सामग्री पोस्ट गर्ने र संस्थागत छविमा आँच पुर्‍याउने काम गर्दै आएकी थिइन्। प्रविधिक विश्लेषणमार्फत यस्ता गतिविधिमा उनको संलग्नता पुष्टि भएपछि उनलाई भक्तपुरबाट पक्राउ गरिएको हो।

प्रहरीले सामाजिक सञ्जालमा द्वेष फैलाउने, जातीय र धार्मिक आधारमा विभेदयुक्त टिप्पणी गर्ने कार्यप्रति निगरानी कडा बनाइएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="