दाङ,२ असार । दाङको घोराही–तुलसीपुर सडकखण्डमा यतिबेला डोजर होइन, डाटा दौडिरहेको छ। सडक अझै खाल्डाखुल्डीमै अड्किएको छ, तर सामाजिक सञ्जालमा भने चार लेनको ‘रिबन कटिङ’ भइसकेको छ। जनप्रतिनिधि देखि नेतासम्म मोबाइल समातेर फेसबुकमा ‘फोरलेन’ उद्घाटन गरिरहेका छन्।
तुलसीपुरको हात्तीखौवा चोकदेखि घोराहीको डिके पेट्रोलपम्पसम्म करिब २१ किलोमिटर सडक विस्तारको सरकारी योजना अन्तिम चरणमा पुगेको छ। सोमबार निर्माण कम्पनीहरूको आर्थिक प्रस्ताव खुलेको छ, अझै ठेक्का कसलाई पर्छ भन्ने टुंगो लागेको छैन। तर फेसबुक हेर्ने हो भने सडक बनेर भोलि बिहानै सवारी चल्न थालिसक्ने हो कि जस्तो लाग्छ।
नगरप्रमुख टिकाराम खड्काले सामाजिक सञ्जालमा फोरलेनको नक्सा सहित ‘दिवा–भगबति निर्माण सेवा कम्पनीले पायो दाङको घोराही–तुलसीपुर फोरलेन सडकको ठेक्का’ पोष्ट गरेका छन् ।
तर घोराही–तुलसीपुर चारलेन सडक निर्माणका लागि अहिले आर्थिक मूल्याङ्कनको काम भइरहेको मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयका प्रमुख दीप बराहीले जानकारी दिए । आयोजना प्रमुख बराहीले सामाजिक सञ्जालमा आएको ‘ठेक्का लगाइसकियो’ भन्ने प्रचार झुटो भएको बताउँदै भने, “सडकमा काम होइन, सूचना नै निर्माण भइरहेको छ अहिले।” उनले भने–‘ठेक्का पुरा हुन अझै सात दिन लाग्छ ,त्यसपछि २१ दिनपछि मात्रै ठेक्काको पूर्ण प्रक्रिया पूरा भएर सम्झौतामा जने हो । असार २२ भन्दा अघि ठेक्का सम्झौता हुने अबस्था छैन । ’
‘दाङमा बन्दै छ है घोराही– तुलसीपुर सडक’ भन्दै नेकपा एमाले नेतृ कोमल ओलीले पनि आफ्नो फेसबुक प्रोफाइलमा पोष्ट गरेकी छन्।
जनताको धारणा यति कटु भइसकेको छ कि अब कसैले सडक बनाए भन्ने सुन्दा भन्दा देख्दा विश्वास गर्न खोज्छ। किनभने, यसअघि पनि यही सडक निर्माणको जिम्मा पाएको भारतीय कम्पनी ‘तथ्य इञ्जिनियरिङ’ ले ६ वर्षमा १० प्रतिशत पनि काम गर्न सकेन। त्यसैले त २०८० मा सम्झौता नै रद्द गर्नुप¥यो।
अब नयाँ ठेक्का प्रक्रिया अन्तिम चरणमा पुगेको छ। चार निर्माण कम्पनीमध्येबाट एकलाई छनोट गरिनेछ। प्रस्ताव अनुसार ३ अर्ब ९९ करोड रुपैयाँको लागतमा चार लेन सडक ३६ महिनाभित्र सक्नुपर्नेछ। तर अहिले देखिएको गति भने फेसबुकको स्टोरी जत्रो तिव्र छैन।
यसपटकको योजना अनुसार दुबैतर्फ ७–७ मिटरको कालोपत्रे गरिनेछ। बिबिएम र अस्पाल्ट प्रविधिबाट १० सेन्टिमिटर मोटाइको सडक बन्नेछ तुलसीपुर–घोराही सडक चार लेनमा विस्तार गर्ने कार्यका लागि कुल पाँच जनाले बोलपत्र पेस गरेका थिए। ठेक्का हालेका पाँच जनामध्ये चार जना निर्माण व्यवसायी मात्रै प्राविधिक प्रस्तावमा सफल भएका थिए। ती चार जना बोलपत्र दाताहरूको आर्थिक प्रस्ताव सोमबार खोलिएको हो।
जसमा रौतहट÷खानी जेभी प्राइभेट लिमिटेड, त्रियुगा नगरपालिका उदयपुर, लामा कन्स्ट्रक्सन कम्पनी प्रालि, महाराजगञ्ज काठमाडौं, आहिस निर्माण सेवा प्रालि, भक्तपुर–१० चितवन र दिवा÷बन्दना भगवती जेभी बत्तिसपुतली काठमाडौं छन्।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस