दाङ,२ असार । दाङको तुलसीपुरमा १५ दिने सीप विकास तालिम सम्पन्न भएको छ । ‘सीप सिकौं, आत्मनिर्भर बनौं’ भन्ने नारासहित तुलसीपुर उपमहानगरपालिकाको आयोजनामा आयोजित १५ दिने सीप विकास तालिम सम्पन्न भएको छ। तालिम जेठ १९ गतेदेखि असार २ गतेसम्म सञ्चालन भएको तालिममा थाकलको ब्याग, टोपी र चकटी बनाउन सिकाइएको थियो ।
सामुदायिक वनका महिला पदाधिकारीहरूलाई लक्षित गरी आयोजित तालिममा ४० भन्दा बढी महिलाहरुको सहभागिता रहेको थियो । तालिमको प्रशिक्षकमा कृष्णा चौधरी रहेकी थिइन् ।
तालिम समापनका अवसरमा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काले सीपले जीवनमा रूपान्तरण ल्याउने उल्लेख गरे । उनले सहभागी महिलालाई सिकेको सीपलाई व्यवहारमा उतार्न आग्रह गरे। ‘सीपले जीवन परिवर्तन गर्छ, त्यसैले सिकेको सीपलाई केवल प्रमाणपत्रमा सीमित नराखौं,उनले भने–‘ उत्पादन र बजारीकरणतर्फ उन्मुख बनौं।’
वडा नं ६ का वडाध्यक्ष तथा उपमहानगर सरसफाइ शाखा संयोजक दुज्मान भण्डारीले राज्यको लगानीबाट दीर्घकालीन लाभ लिन सकिने कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए । उनले भने–‘राज्यको लगानी बालुवामा पानी हालेजस्तो हुनु हुँदैन। यसले प्रतिफल दिनुपर्छ।’
वडा नं। ३ का वडाध्यक्ष वीरबहादुर विकले सामुदायिक वनको स्रोत उपयोग गरी तालिमलाई अझ प्रभावकारी बनाउनुपर्ने बताए।
तुलसीपुर उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष देबबहादुर केसीले तालिमले बेरोजगार महिलालाई आत्मनिर्भर बनाउन सहयोग पुर्याउने बताए। उनले उत्पादित वस्तुको बजारीकरणका लागि संघले स्थानीय सरकारसँग सहकार्य गर्ने जानकारी दिँदै, उनले भने–‘अब कहाँ लैजाने भन्ने अन्योल नरहोस्, संघ सहयोग गर्न तयार छ,’।
रिपोर्टर्स क्लब दाङका अध्यक्ष शरद रेग्मीले तालिम लिएकाहरूका सामग्रीहरूको बजारीकरणका लागि संघ कार्यालयमै विशेष कक्षको व्यवस्था गरिएको जानकारी दिए। पत्रकार महासंघ दाङका उपाध्यक्ष ओपेन्द्र बस्नेतले तालिम कार्यान्वयनमा सुधार आवश्यक रहेको औंल्याउँदै व्यवहारिक र परिणाममुखी कार्यक्रमको आवश्यकता रहेको बताए।
सहभागी चन्द्रकला तिवारीले तालिम अवधि लम्ब्याइनुपर्ने सुझाव दिँदै, प्रमाणपत्र वितरणभन्दा दीर्घकालीन सिकाइमा जोड दिनुपर्ने धारणा राखिन्। कार्यक्रमको सहजीकरण अधिकृत रमा खड्काले गरेकी थिइन्।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस