सप्तरी, ३ असार । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका तत्कालीन सब–इन्जिनियर दीपेन्द्रकुमार झा भनिने दीपेन्द्र कुमारविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी जागिर खाएको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा झाविरुद्ध मुद्दा दायर गरेको हो। आयोगका अनुसार झाले त्रिभुवन विश्वविद्यालय अन्तर्गतको इन्स्टिच्युट अफ इन्जिनियरिङ, वेस्टर्न रिजन कलेज, लामाचौर पोखराबाट डिप्लोमा इन सिभिल इन्जिनियरिङ उत्तीर्ण गरेको भनी नक्कली प्रमाणपत्र पेश गरेका थिए।
झाले सोही नक्कली प्रमाणपत्रको आधारमा गाउँपालिकामा करार सेवामा नियुक्ति पाएका थिए। अख्तियारमा परेको उजुरीका आधारमा अनुसन्धान गर्दा झाको शैक्षिक प्रमाणपत्र नक्कली भएको पुष्टि भएको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए।
अख्तियारले झालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा ९१० अनुसार कसुर गरेको ठहर गर्दै कैद तथा जरिवानाको मागदाबी गर्दै मुद्दा दायर गरेको जनाएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस