after_navbar

तुलसीपुरमा १५ दिने अचार बनाउने तालिम सुरु


असार ०३, २०८२


दाङ,३ असार । दाङको तुलसीपुरमा १५ दिने अचार बनाउने तालिम सुरु भएको छ। तुलसी सामाजिक विकास केन्द्रको आयोजनामा तथा सामाजिक विकास डिभिजन कार्यालय तुलसीपुरको सहकार्यमा महिलाहरूलाई लक्षित गरी १५ दिने अचार बनाउने सीप विकास तालिम आजदेखि सुरु भएको हो।

तालिममा तुलसीपुर उपमहानगरपालिका अन्तर्गतका विभिन्न वडाबाट सहभागी ६० जना महिलाहरूको उपस्थिति रहेको छ। उद्घाटन कार्यक्रम तुलसी सामाजिक विकास केन्द्रका अध्यक्ष गणेश भण्डारीको अध्यक्षता र सामाजिक विकास डिभिजन कार्यालय दाङका प्रमुख गिरिराज पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

कार्यक्रममा वडा नं. ६ का वडा अध्यक्ष दुजमान भण्डारीले उद्यमशीलता र सीप विकास गरिबी निवारणको मुख्य आधार भएको बताए उनले भने- “समूहगत रूपमा अचार उत्पादन गर्न सकियो भने बजारको अभाव छैन। बाहिरबाट आउने अचारलाई रोकेर स्थानीय उत्पादनको खपत बढाउन सकियो भने यो ठूलो योगदान हुनेछ।”

उनले सहभागी महिलाहरूलाई एड्भान्स तालिम र आवश्यक आर्थिक सहयोग सुनिश्चित गरिने प्रतिबद्धता पनि जनाए।

मुख्य अतिथि गिरिराज पाण्डेले सीपयुक्त कार्यक्रममार्फत महिलालाई आत्मनिर्भर बनाउने लक्ष्य रहेको बताए। “प्रतिस्पर्धी बजारमा टिक्न गुणस्तरीय उत्पादन अनिवार्य हुन्छ। त्यसैले सिकाइसँगै व्यवहारिकता र निरन्तरता पनि जरुरी छ,” उनले सहभागीहरूलाई आग्रह गरे।

तालिममा अचार उत्पादनका विभिन्न प्रविधि, गुणस्तर, प्याकेजिङ र बजार व्यवस्थापनका विषयमा व्यवहारिक ज्ञान दिइने आयोजकले जानकारी दिएको छ। तालिम १५ दिनसम्म सञ्चालन हुनेछ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="