काठमाडौं,४ असार । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा संरक्षणमा रहेको दुर्लभ वन्यजन्तु रेडपाण्डाको शनिबार निधन भएको छ। पछिल्लो समय पटक–पटक चोरी प्रयासको निशानामा परेको रेडपाण्डा बिरामी भएर मृत अवस्थामा फेला परेको हो।
चिडियाखानाका प्रमुख सत्यनारायण शाहका अनुसार रेडपाण्डाको शनिबार दिउँसो १२ बजे मृत्यु भएको हो। “एक सातादेखि बिरामी थियो, खानेकुरा कम खान थालेको थियो,” उनले भने, “उपचार गरिरहँदा स्वास्थ्यमा सुधार नभएपछि मृत्यु भयो। पोस्टमार्टम रिपोर्टअनुसार किड्नी फेल भएर मृत्यु भएको देखिएको छ।”
११ वर्ष उमेर पुगेको रेडपाण्डा सामान्यतया पाइने ८–१० वर्षको औसत आयुभन्दा केही समय बढी बाँचेको थियो। चिडियाखानाका अनुसार रेडपाण्डाको जोडीको मृत्यु गत वर्ष भएको थियो। त्यसपछि उक्त रेडपाण्डा एक्लो थियो। प्रमुख शाह भन्छन्, “जोड़ी नभएकाले मानसिक रूपमा कमजोर हुन पुग्यो होला। यस्तै अवस्थाले पनि उसको स्वास्थ्यमा असर पारेको हुनसक्छ।”
वैशाख ३० गते राति १० बजेतिर चिडियाखानामा रेडपाण्डा चोरी गर्ने प्रयास भएको थियो। चोरीकर्ताले त्यो रातमै दोस्रो प्रयास समेत गरेका थिए। यद्यपि, चोरी सफल भएन। ती प्रयासहरूले रेडपाण्डामा मानसिक दबाब थपेको आशंका पनि गरिएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस