काठमाडौं, ४ असार । काठमाडौं महानगरपालिकाका निलम्बित नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको निलम्बन कार्यान्वयनमा उच्च अदालत पाटनले रोक लगाएको छ।
उच्च अदालत पाटनका न्यायाधीशद्वय ऋषिराज भण्डारी र डिल्लीरत्न पाण्डेको संयुक्त इजलासले बुधबार पाण्डेको निलम्बन तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो। अदालतको आदेशपछि अब उनको निलम्बन तत्काल लागु हुने छैन।
काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले जेठ २० गते पाण्डेलाई छ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेका थिए। उक्त निर्णयविरुद्ध पाण्डेले अदालतमा रिट निवेदन दायर गरेका थिए।
रिटमार्फत उनले काठमाडौं महानगरपालिका, मेयर बालेन शाह, उपमेयर सुनीता डंगोल, प्रमुख प्रशासकीय अधिकृत गुरागाईं, महानगरीय प्रहरी बल, हालका नगर प्रहरी प्रमुख विष्णुप्रसाद जोशी र नगर कार्यपालिकाको कार्यालयलाई विपक्षी बनाएका थिए।
पाण्डेले आफूविरुद्ध गरिएको निलम्बन निर्णय प्रक्रियागत त्रुटीपूर्ण रहेको दाबी गर्दै न्याय मागेका थिए। अदालतको अन्तरिम आदेशपछि अब यो मुद्दाको अन्तिम टुंगो नलागेसम्म उनलाई पदमुक्त गर्न सकिने छैन।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस