दाङ,७ असार । महिला पत्रकारहरूको लेखन क्षमतामा अभिवृद्धि गर्ने उद्देश्यले दाङमा तीन दिने लेखनसीप कार्यशाला सम्पन्न भएको छ।
सञ्चारिका समूह लुम्बिनी प्रदेशको आयोजना र लुम्बिनी प्रदेश सरकारअन्तर्गत आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा कार्यशाला असार ५ गतेदेखि ७ गतेसम्म सञ्चालन गरिएको हो।
कार्यशालामा दाङ र रोल्पाका करीब २४ जना महिला पत्रकारहरूको सहभागिता रहेको थियो । कार्यशालामा महिला पत्रकारहरूलाई समाचार लेखन, सृजनात्मक लेखन र खोजमुलक पत्रकारिता सम्बन्धी अभ्यास गराइएको थियो।
तीन दिनसम्म सञ्चालन भएको कार्यशालाले आफूहरूलाई सामाजिक मुद्दामा कलम चलाउन थप प्रेरणा मिलेको र लेखन क्षमता निखार्न सहयोग पुगेको सहभागीहरूले अनुभव सुनाए।
प्रशिक्षकहरूको सहजीकरणमा सहभागीहरूले समाचार लेखनको अभ्यास मात्र होइन, आफ्नो अनुभव आदानप्रदानसमेत गरेका थिए। कार्यशालामा सरकारका विविध कार्यक्रम र कार्यहरूलाई गहिरिएर अध्ययन गरी तथ्यपूर्ण समाचार तयार गर्न आवश्यक सुझावहरू पनि दिइएको थियो।
कार्यशालामा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव भूपेन्द्र पाण्डे, कम्प्युटर अपरेटर हिरालाल घर्ती मगर, खानेपानी डिभिजन कार्यालय दाङ प्रमुख तिलक न्यौपानेलगायतले खोजमूलक पत्रकारिताको आवश्यकतामाथि प्रकाश पारे।
उनीहरूले प्रदेश सरकारअन्तर्गत सञ्चालित कार्यक्रमहरूको पारदर्शिता सुनिश्चित गर्न पत्रकारहरूको भूमिकाबारे चर्चा गर्दै अनुसन्धानमा आधारित समाचार तयार गर्न आग्रह गरे।
लुम्बिनी प्रदेशका मुख्यमन्त्रीका प्रेस संयोजक दशरथ घिमिरेले समाचार लेखनका लागि उपयोगी विषयवस्तु, स्रोतको पहिचान र सरकारी कार्यक्रमहरूका सन्दर्भमा जानकारी प्रस्तुत गरे।
त्यस्तै, सञ्चारिका समूह लुम्बिनी प्रदेशकी अध्यक्ष अमृता अनमोल, सल्लाहकार नारायण रजौरी र पत्रकार चुमा आचार्यले समाचारका प्रमुख तत्व, स्रोत व्यवस्थापन र पेशागत लेखनशैलीबारे सहभागीलाई मार्गदर्शन गरे।
समापन समारोहमा बोल्दै सञ्चारिका समूह लुम्बिनी प्रदेशकी अध्यक्ष अमृता अनमोलले महिला पत्रकारहरूको सशक्तिकरणका लागि कार्यशालाहरू उपयोगी हुने विश्वास व्यक्त गरिन्।
संञ्चारिका समूह लुम्बिनी प्रदेशले महिला पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि विभिन्न समयमा थुप्रै कार्यक्रमहरू गर्दै आएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस