after_navbar

पैसा नपाएको रिसमा भाउजुको हत्या गरे, बोकेर नालीमा फाले


असार ०८, २०८२


कैलाली,८ असार । कैलालीको गौरीगंगा नगरपालिका–७, कैलाशपुरमा एक सुत्केरी महिला मृत फेला परेकी थिइन् । १६ दिनअघि शिशु जन्माएकी १९ वर्षीया तुलसी नाथको हत्या अभियोगमा उनका आफ्नै देवर नवीन नाथ पक्राउ परेका छन्। अनुसन्धानमा हत्याको कारण पैसाको लेनदेनप्रति असन्तुष्टि र भाउजुसँगको पारिवारिक तनाव रहेको खुलेको छ।

प्रहरीका अनुसार मृतक तुलसीको शव ३ दिनअघि बिहान घरनजिकैको नालीमा घोप्टो परेको अवस्थामा फेला परेको थियो। सुरुमा रहस्यमय देखिएको घटनाको अनुसन्धान गर्दा योजनाबद्ध पारिवारिक हत्या भएको पुष्टि भएको हो।

इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी रणबहादुर चन्दका अनुसार घटना भएको दिन तुलसी आफ्ना १६ दिने शिशुलाई खोप लगाएर दिउँसो घर फर्किएकी थिइन्। घरमा खाना खाइसकेको थियो। उनले आफ्नो लागि भाग लगाइएको भात थोरै देखेपछि सामान्य गुनासो गरेकी थिइन्। यही कुरालाई लिएर घरमा हल्का मनमुटाव भएको थियो।

त्यस साँझ देवर नवीनले खाना पकाएका थिए। उनले भाउजू तुलसी, आफ्नी श्रीमती र नन्दसँगै खाना खाएका थिए। खानापछि सबै आ–आफ्नो कोठामा गएका थिए। सुत्केरी भएकाले तुलसी एक्लै शिशुसँग अर्कै कोठामा सुतेकी थिइन्।

भोलिपल्ट बिहान नन्द हेमा स्कुल जान निस्कँदा घरसँगैको नालीमा तुलसीको शव देखेकी थिइन्। उनले तत्कालै दाजु नवीनलाई खबर गरिन्। शव नालीबाट निकालेर बार्दलीमा राखिएको अवस्थामा प्रहरीले भेट्यो।

घटनास्थल जाँच र शव परीक्षणको क्रममा तुलसीले सधैं लगाउने ८ वटा सुनका रिङ र चाँदीको औँठी हराएको खुलेपछि घटनाले नयाँ मोड लिएको थियो। शरीरमा कुनै चोटपटक नभेटिएको तर गहना हराएको देख्दा प्रहरीको शंका घरभित्र केन्द्रित भयो।

प्रहरीका अनुसार मृतकका श्रीमान् र देवर नवीन सँगै भारतमा काम गर्थे। दाजुले कमाएको पैसा सिधै श्रीमती तुलसीको खातामा पठाउँथे र आर्थिक जिम्मेवारी उनीमै थियो। देवर नवीनलाई पैसा चाहिँदा भाउजुसँग माग्नुपर्थ्यो, जुन कुराले उनी असन्तुष्ट थिए। उनले प्रहरीसमक्ष दिएको बयानअनुसार भाउजुले आफन्तमाझ पनि आफूलाई बदनाम गर्ने कुरा गर्थिन् भन्नेमा उनी झन् रुष्ट थिए।

प्रहरीले मृतकका बुबाआमाको सहयोगमा नवीनसँग सोधपुछ गर्दा उनले घरबाहिर गिट्टी थुपारेको ठाउँमा लुकाएको सुन फिर्ता गरेका थिए। त्यसपछि उनले प्रहरीसमक्ष हत्या गरेको स्वीकारेका छन्।

उनले भनेअनुसार राति सबै सुतिसकेपछि उनी भाउजू सुतेको कोठामा गएर मुख थिचेर हत्या गरे र सुनका गहना झिके। त्यसपछि शवलाई बच्चा बोकिएझैं बोकेर नालीमा फाले।

डीएसपी चन्दका अनुसार घटनामा अन्य व्यक्तिको संलग्नता छ कि छैन भन्नेबारे थप अनुसन्धान भइरहेको छ। तुलसीको शवको पोस्टमार्टम रिपोर्ट आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="