पर्सा ,८ असार ।पर्सामा सवारी दुर्घटना हुदा एकजनाको मृत्यु भएको छ। बहुदरमाई नगरपालिका–५ पटनीस्थित गण्डक नहर सडकमा शनिबार राति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
भारतीय नम्बर प्लेट (बीआर ०१ पिए ४४९९) को टाटासुमो र नम्बर नखुलेको मोटरसाइकल ठोक्किएर सडक छेउको निर्माणाधीन नहरमा खसेका थिए।
नहरमा खसेपछि दुबै सवारीसाधनमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालले जानकारी दिए। उनका अनुसार आगलागीबाट दुबै सवारीसाधन जलेर नष्ट भएका छन्।
दुर्घटनामा मोटरसाइकल चालक भारतको बिहार राज्य, पूर्वी चम्पारणका ३८ वर्षीय नरेश साह बर्णवालको मृत्यु भएको हो। मोटरसाइकलमा सवार पर्सा बहुदरमाई–५ का १९ वर्षीय रोशन बर्णवाल घाइते भएका छन्। उनको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ।
सुमोका चालक भने घटनापछि फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनामा जलेको मोटरसाइकलको नम्बर प्लेट समेत खुल्न नसकेको प्रहरीले बताएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस