after_navbar

घरायसी झगडामा जब श्रीमान्–श्रीमतीले भीरबाट हामफाले …


असार ११, २०८२


राप्ती, ११ असार। घरायसी विषयमा झगडा भएपछि श्रीमान्–श्रीमतीले भीरबाट हाम फालेका छन् ।चितवनको राप्ती नगरपालिका–४ चौकीडाँडामा घरायसी झगडापछि भीरबाट हाम फालेका दम्पतीमध्ये श्रीमतीको ज्यान गएको छ भने श्रीमान् गम्भीर घाइते भएका छन् ।

ad

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ४२ वर्षीया कुमारी प्रजा चेपाङको घटनास्थलमै मृत्यु भएको हो । उनका ४७ वर्षीय श्रीमान् लिलाबहादुर प्रजा चेपाङ गम्भीर घाइते छन् ।

प्रहरी प्रवक्ता डिएसपी रविन्द्र खनालका अनुसार मंगलबार मध्यान्हतिर उनीहरूले खहरे खोलाको भीरबाट हाम फालेका थिए । झगडा भएपछि सँगै भीरतर्फ गएको र सोही क्रममा दुबैजनाले हाम फालेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ ।

घटनामा लिलाबहादुरको बायाँ कानबाट रगत बगेको र कुममा चोट लागेको छ । उनी अहिले भरतपुरस्थित सरकारी अस्पतालमा उपचाररत छन् ।

चितवनमा थप दुई महिलामाथि श्रीमानद्वारा कुटपिट, घाइतेको अस्पतालमा उपचार: चितवनको भरतपुरमा घरेलु हिंसाका छुट्टाछुट्टै घटनामा दुई महिला श्रीमानको कुटपिटबाट घाइते भएका छन् ।

भरतपुर महानगरपालिका–११, नौरङ्गेमा मंगलबार साँझ ८ बजे २५ वर्षीया महिलामाथि उनका श्रीमानले कुटपिट गर्नुका साथै खुकुरी प्रहार गरेका थिए । उक्त घटनामा महिलाको अवस्था मध्यम रहेको र हाल भरतपुरको सरकारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनापछि फरार रहेका श्रीमान् एक घण्टापछि प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यसैगरी, भरतपुर–५ कैलासनगरमा मंगलबार राति १० बजे ३१ वर्षीया महिलामाथि पनि उनका श्रीमान्ले कुटपिट गरेका छन् । टाउकोमा चोट लागेकी ती महिला मध्यम घाइते अवस्थामा छन् र उनी पनि भरतपुरको सरकारी अस्पतालमा उपचाररत छिन् । कुटपिट गर्ने श्रीमानलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="