उमा भण्डारी,दाङ। सार्वजनिक ठाउँमा खुलेर बोल्न नसक्ने, छेउँमा बसेका अन्य साथीको साहरामा आफ्ना कुरा राख्ने सीता राणा । अहिले उनी आफ्ना वडावासी र महिलाका विषयमा खुलस्त आवाज प्रस्तुत गर्ने सक्ने भएकी छन् ।
तुलसीपुर उपमहानगरपालिका–१७ की सीता राणाको यो परिर्वतन सामान्य लाग्न सक्छ । तर यो उनको लागि ठुलो उपलव्धी बनेको छ । आफ्नो आवाजले वडावासी र महिलाको नेतृत्व गर्ने परिवर्तन सहजै आएको भने होइन । सीताको परिवर्तनको साक्षी बनेको छ महिला नमुना संसद् ।
तुलसीपुर उपमहहानगरपालिकाले आयोजना गरेको महिला नमुना संसद् अभ्यासले महिला जनप्रतिनिधिको आत्मविश्वास मात्र बढाएको छैन, नेतृत्व विकासमा ठुलो सहयोग गरेको छ । कुनैबेला परिचय बताउन डराउने सीता अहिले स्थानीय सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेट कार्यक्रममा महिलाका सवालहरु प्राथमिकतामा राखिनुपर्ने माग गर्छिन् ।
लक्षित वर्ग, महिला तथा सिमान्तकृत समुदायको उत्थानका लागि पालिका र वडा सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने र बजेटको अनिवार्यता गर्नुपर्ने आवाज निरन्तर उठाउछिन्, माग राख्छिन् ।
वडा नं. ९की दिलकुमारी दमाईमा पनि महिला नमुना संसदकै कारण बोल्न, बुझ्न र परिवर्तनको संवाहक बन्न सक्ने हिम्मत जागेको छ । वडामा भए गरेका योजना तथा कार्यक्रमहरु लैंगिकमैत्री छन्÷छैनन्, सामाजिक समावेशीकरणमा आधाररित छन्÷छैनन् त्यसको खोज, अध्ययन र विश्लेषण गर्न सक्ने भएकी छन् । विगतमा वडाका कार्यक्रमहरुमा सहभागिता जनाएर फर्किने दिलकुमारी अहिले लक्षित वर्गका लागि नीति तथा बार्षिक कार्यक्रम पहिलो प्राथमिकतामा राखिनुपर्ने माग उठाउने र त्यसका लागि वहस गर्ने गर्दछिन् ।
यसैगरी वडा नं. ८ कि सुमित्रा चौधरीले वडामा महिलाहरुका लागि क्षमता विकासका कार्यक्रम, लक्षित वर्गका लागि क्षमता विकासका कार्यक्रम, द्धन्द्धपीडितका लागि विमा कार्यक्रमहरु सम्पन्न गर्न सफल भएको बताउँछिन् । समय–समयमा पालिकाले नमुना संसद्को अभ्यासमा वडास्तरका आवश्यकत र मागमा आधारीत विषयमा वहस्, छलफल तथा योजना तर्जुमा गरी बजेट बाँडफाँड सम्वन्धी हुने संसदीय अभ्यासले यो सबै संभव भएको उनको अनुभव छ ।
यी प्रतिनिधीमुलक पात्रहरु हुन् । तुलसीपुरको महिला नमुना संसदीय अभ्यासले जनप्रतिनिधीहरुलाई नेतृत्व गर्न सक्ने विश्वास जगाएको छ । वडामा भएगरेका काम कारबाही, सम्पन्न गर्न नसकेका कामहरु, पालिकास्तरमा माग गरिएका योजना र तीनको कार्यान्वयको अवस्थाका बारेमा उनीहरु उक्त संसद अभ्यासमा प्रस्तुत गर्ने गर्दछन् ।
सोही अन्र्तगत बुधबार वडाबाट आएका विषयवस्तु र समितिसंग जोडिएका विषयवस्तु र वडामा सम्पन्न योजनाहरुको बारेमा विश्लेषण गरिएको छ । महिला नमुना संसद्की सभामुख सिमा न्यौपानेले पालिका भित्रका १९ वटै वडामा रहेका सांसदहरुलाई वडामा सम्पन्न योजनाहरुको बारेमा प्रतिवेदन प्रस्तुत गर्न लगाएकी थिइन् । सांसदहरुले पालैपालो आफ्नो वडामा लक्षित वर्गका लागि विनियोजित बजेट मार्फत सम्पन्न कार्यक्रमहरुको बारेमा जानकारी गराएका थिए ।
यसैगरी विभिन्न ७ वटा विषयगत समितिका संयोजकहरुले वडामा सम्पन्न कार्यक्रम, समितिसंग जोडिएका विषय र पालिकालाई बुझाएको ध्यानाकर्षण पत्रमा भएका विषयहरु के–कति पालिकाको वार्षिक बजेट कार्यक्रममा समावेश गरिएको छ त्यसको बारेमा छलफल गरेका थिए । प्रत्येक वडाका सांसद् र विषयगत समितिका संयोजकहरुले पालैपाले माफ्नो प्रस्तुतीकरण राखेका थिए ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाकी उपप्रमुख स्यानी चौधरीले यस्ताखाले अभ्यासले महिलाहरुमा वहस गर्नसक्ने क्षमताको विकास हुने बताइन् । उनले महिलाले मात्रै पनि सरकारको नेतृत्व गर्न सक्छन् भन्ने कुराको पुष्टि भएको बताइन् । उनले आगमी निर्वाचनमा संघ, प्रदेश, स्थानीय तह र वडास्तरको प्रमुख जिम्मेवारीमा महिलाको नेतृत्व ल्याउनुपर्ने बताइन् ।
सो अवसरमा वडा नं. ६ का निवर्तमान वडा अध्यक्ष नवराज लामिछानेले नमुना संसद्ले प्रदेश र संघको संसदीय प्रणालीको झल्को दिएको बताए । सरकारले ल्याउने योजना र सम्पन्न गर्न कार्यक्रमहरु जनआवश्यकता, नागरिकमुखी छन् छैनन् त्यसको खोज, अध्ययन र अनुसन्धान गर्न सक्ने क्षमताको विकास यस्तैखाले अभ्यासबाट हुने बताए ।
कार्यक्रममा उपसभामुखको भूमिकामा रहेकी महिला अधिकारकर्मी सुस्मा गिरी, महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठले संसदीय अभ्यासले जनप्रतिनिधीहरुमा बोल्ने, वहस गर्ने र विषयमा आधारीत रहेर छलफल गर्नसक्ने क्षमताको विकास भएको बताएका थिए ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस