दाङ, १३ असार। दाङमा ट्रकले किचेर घाइते भएका एक व्यक्तिको उपचारका क्रममा मृत्यु भएको छ।
मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका–३ का ३२ वर्षीय गोपीलाल वली रहेका छन्। प्रहरीका अनुसार उनी मदिराले मातेर ट्रकको टायरनजिकै गएर बसेका थिए। चालकले नदेखी ट्रक अगाडि चलाउन खोज्दा च्यापिँदा गम्भीर घाइते भएका वलीको अस्पतालमै मृत्यु भएको हो।
घटनास्थल त्रिवेणी गाउँपालिका–४ निगालपानी बजारमा बिहीबार बिहान सवा ११ बजेतिर भएको थियो। घोराहीबाट रोल्पाको लिङ्दुङतर्फ तरकारी लिन जाँदै गरेको रा १ ख ३२२२ नम्बरको ट्रकका चालक रोल्पा लुंग्री गाउँपालिका–३ का २७ वर्षीय मिलन घर्तीले चिया–नास्ता खान गाडी रोकेका थिए।
खाजा खाइसकेपछि उनले ट्रक स्टार्ट गरी अगाडि बढाउन खोज्दा गाडी सजिलै नचलेपछि उनले झनै जोर लगाए। केही बेरपछि कोही कराएको आवाज सुनेर ओर्लिएर हेर्दा वली ट्रकको टायरमुनि च्यापिएको अवस्थामा भेटिएका थिए।
चक्काले च्यापिँदा वलीको बायाँ खुट्टा र ढाडको हड्डी भाँचिएको थियो। घाइते अवस्थामा उनलाई नेर्पास्थित स्वास्थ्य चौकी लगिएको र थप उपचारका लागि घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस