रूकुम पश्चिम, १३ असार । किशोरी बलात्कारको आरोपमा वाइसीएलका एक नेता पक्राउ परेका छन् । १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा नेकपा (माओवादी केन्द्र)को भ्रातृ संगठन योङ कम्युनिस्ट लिग (वाइसिएल)का एक नेता पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा रूकुम पश्चिमका ३० वर्षीय रेशम खत्री क्षेत्री छन्। उनी वाइसिएल कर्णाली प्रदेश कमिटी सदस्य र चौरजहारी नगर कमिटी इन्चार्जसमेत हुन्।
जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका डिएसपी प्रमेश विष्टका अनुसार क्षेत्रीलाई बिहीबार राति सानोभेरी गाउँपालिका स्थित एक होटलबाट पक्राउ गरिएको हो।
१७ वर्षीया किशोरीले दुई महिनाअघि जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन्। जाहेरीमा २०७९ चैतमा चौरजहारीको होटलमा क्षेत्रीले बलात्कार गरेको र त्यसकै कारण आफू आमाबनेको उल्लेख गरिएको डिएसपी विष्टले बताए।
किशोरीका अनुसार घटना भएपछि आरोपितले गर्भपतन गराउन दबाब दिएका थिए। आफूले अस्वीकार गरेपछि उनले सबै खर्च व्यवस्थापन गर्ने र मुद्दा नलगाउन चेतावनी दिएको समेत जाहेरीमा उल्लेख छ।
मुलुकी अपराध संहिता दफा २१९ ले १८ वर्षमुनिका बालिकासँग मञ्जुरी लिएर गरिएको करणीलाई समेत जबरजस्ती करणी मानेको छ।
जाहेरी परेपछि क्षेत्री फरार थिए। बिहीबार राति गोप्य सूचनाका आधारमा होटलमै लुकेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो।
नगर खेलकुद विकास समिति चौरजहारीका अध्यक्षसमेत रहेका क्षेत्री जिल्लास्तरका राजनीतिज्ञ र खेलकर्मीका रूपमा समेत सक्रिय थिए।
पक्राउ परेका उनलाई शुक्रबार अदालतमा म्याद थपका लागि पेश गरिने प्रहरीले जनाएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस