दाङ,१३ असार । दाङको तुलसीपुरमा अपाङ्गता भएका व्यक्तिहरूको सशक्तिकरणका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
तुलसीपुर उपमहानगरपालिका–१ मा अपाङ्गता भएका व्यक्तिहरुको सशक्तिकरण तथा अधिकार प्रवर्द्धनका लागि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।
आर्थिक वर्ष २०८१/०८२ को लक्षित कार्यक्रम अन्तर्गत अपाङ्गता भएका व्यक्तिहरुको क्षमता विकासमा योगदान पुगोस् भन्ने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गरिएको हो।
अपाङ्ग सेवा संघ दाङको आयोजनामा र मनकामना अपाङ्गता समावेशी स्वावलम्बन समूह, तुलसीपुर–१ को सहआयोजनामा तथा वडा नं.१ को आर्थिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो।
मनकामना अपाङ्गता समावेशी स्वावलम्बन समूहका अध्यक्ष जमलाल आचार्यको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष ओमकान्त सापकोटाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो।
कार्यक्रममा प्रमुख अतिथि समेत रहेका वडा अध्यक्ष सापकोटाले अपाङ्गता भएका व्यक्तिको सशक्तिकरण आजको मुख्य आवश्यकता भएको उल्लेख गरे। अभिमुखीकरण कार्यक्रमले उनीहरूलाई सशक्त र सचेत बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे।
उनले आगामी वर्षको बजेट तथा योजनामा पनि अपाङ्गता भएका व्यक्तिहरुको आयआर्जन र आत्मनिर्भरतालाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिने प्रतिबद्धता जनाए।
कार्यक्रमका प्रशिक्षक अपाङ्ग सेवा संघ दाङका अध्यक्ष तथा समावेशी जीविकोपार्जन परियोजनाका वरिष्ठ सहजकर्ता देवा डाँगीले अपाङ्गता भएका व्यक्तिका सवाललाई राज्य र स्थानीय सरकारको एजेन्डामा गम्भीरतापूर्वक राख्नुपर्नेमा जोड दिइन्।
वडाले बनाउने योजनामा अपाङ्गता भएका व्यक्तिहरुको अर्थपूर्ण सहभागिता अनिवार्य हुनुपर्ने बताउँदै उनले अभिमुखीकरणका लागि बजेट विनियोजन गरेकोमा वडालाई धन्यवाद दिएकी थिइन। यसैगरी प्रशिक्षकको रूपमा बसन्ती ओली पनि रहेकी थिइन्।
समूहकी उपाध्यक्ष भूमिका पाण्डेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा वडा नम्बर १ – वडा सदस्य मेघराज सेन, शालिकराम खराल, गौरी नेपाली, ओबी वली केसीलगायतले मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रमको सहजीकरण समूहकी कोषाध्यक्ष रमिता वलीले गरेकी थिइन्।कार्यक्रममा ४६ जना अपाङ्गता भएका व्यक्तिहरुको सहभागिता रहेको आयोजकले जनाएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस