काठमाडौं, १३असार ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मनसुनी रेखा नेपालतर्फ सर्दै गरेकाले सतर्क रहन सबैलाई आग्रह गरेको छ।
विशेष गरी कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेकाले बाढी, पहिरो, डुबान र भूक्षयको जोखिम रहेको महाशाखाले जनाएको छ।
शुक्रबार राति ८ बजे जारी गरिएको मनसुन विशेष मौसम बुलेटिनअनुसार शनिबार साँझदेखि मनसुनको न्यूनचापीय रेखा पश्चिम नेपाल नजिक सर्ने सम्भावना छ।
बुलेटिनमा भनिएको छ, “हाल मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थानमा र पश्चिममा सरदर स्थानको दक्षिणमा अवस्थित छ। शनिबार साँझदेखि यो रेखा पश्चिम नेपाल नजिक उत्तरतर्फ सर्ने देखिएको छ।”
यस प्रणालीको प्रभावले असार १४ गते शनिबार साँझदेखि असार १६ गते सोमबार बिहानसम्म कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागमा व्यापक रूपमा मनसुन सक्रिय हुने देखिएको छ।
महाशाखाका अनुसार बंगालको खाडी र अरब सागरबाट प्रवाह हुने जलवाष्पयुक्त हावा र न्यूनचापीय प्रणालीको प्रभावका कारण ती क्षेत्रहरूमा ठूलो वर्षाको सम्भावना छ। अन्य प्रदेशका केही पहाडी भूभागहरूमा पनि भारीदेखि धेरै भारी वर्षा हुनसक्ने जनाइएको छ।
बुलेटिनमा सम्भावित जोखिमबारे सतर्क गराउँदै भनिएको छ, “वर्षाका कारण भूक्षय, बाढी, पहिरो, गेग्रान बहाव र तराई क्षेत्रमा डुबानको जोखिम रहन सक्ने भएकाले ठूला तथा साना नदी-नालामा पानीको सतह बढ्न सक्नेछ।
दैनिक जनजीवन, कृषि, पर्यटन, निर्माण कार्य, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले सबैले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउन अनुरोध गरिन्छ।”
मौसम महाशाखाले सम्भावित जोखिम क्षेत्रका स्थानीय प्रशासन, सम्बन्धित निकाय र सर्वसाधारणलाई सचेत रहन र पूर्व तयारीमा जुट्न आग्रह गरेको छ।
बुलेटिन हेर्नुहोस:-
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस