after_navbar

ज्ञान ज्योति देशकै उत्कृष्ट विद्यालयको सूचीमा


असार १४, २०८२


दाङ,१४ असार । शिक्षा सम्बन्धी प्रतिष्ठित सञ्चारमाध्यम एजुकेशन समाचारले सार्वजनिक गरेको २०८२ सालको देशभरिका उत्कृष्ट माध्यमिक विद्यालयहरूको सूचीमा तुलसीपुरस्थित ज्ञान ज्योति माध्यमिक विद्यालय देशकै ७ औँ स्थानमा पर्न सफल भएको छ।

४ हजार ७ सय ४१ विद्यालयहरूबाट मुल्याङ्कन गरेर तयार गरिएको सूचिमा ज्ञान ज्योति माविले भौतिक पूर्वाधार, अतिरिक्त क्रियाकलाप, शैक्षिक उपलब्धि, नतिजा, स्थापना वर्ष र जनधारणा (पिपुल्स पर्सेप्सन) लगायतका सूचकहरूमा उत्कृष्ट प्रदर्शन गर्दै सातौँ स्थान सुरक्षित गरेको हो। मुल्याङ्कनमा रिजल्टलाई ८० प्रतिशत र अन्य सूचकहरूलाई ४/४ प्रतिशत अंक प्रदान गरिएको थियो।

लगातार उत्कृष्ट प्रदर्शन
पछिल्ला दुई वर्षमा लगातार अब्बल ७ मा पर्न सफल भएको यस विद्यालयले वार्षिकरूपमा करिब ४८० विद्यार्थीलाई बोर्ड परीक्षामा सहभागी गराउँदै आएको छ। विद्यालयले विज्ञान, व्यवस्थापन, मानविकी, कानून र शिक्षा संकायमा कक्षा ११ र १२ मा अध्यापन गराउँदै आएको छ भने स्नातक तहमा BBS, BBA, BSc, BSc CSIT, BCA, BA, BA LLB तथा स्नातकोत्तर तहमा MBA जस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।

यसले जिल्लाबाहिर उच्च शिक्षाका लागि जानुपर्ने बाध्यतालाई पनि अन्त्य गरेको छ।

उत्कृष्टताको आधार—शिक्षा, अनुशासन र अवसर

विद्यालयका सिइओ सुरेन्द्र जिसीका अनुसार, “ज्ञान ज्योतिको सफलता कुशल नेतृत्व, सबल व्यवस्थापन, अनुभवी शिक्षक–शिक्षिकाहरूको समर्पण, र विद्यार्थीहरूको अनुशासन तथा लगनशीलता हो।” उनले थपे, “अभिरुचि र क्षमताका आधारमा समयसापेक्ष शिक्षण–शिक्षण विधि प्रयोग गर्दै आएका छौं, जसले विद्यार्थीहरूको अन्तरनिहित प्रतिभा उजागर गर्न मद्दत गर्छ।”

विद्यालयले गुणस्तरीय, आत्मनिर्भर र स्वरोजगारमूलक शिक्षालाई प्राथमिकता दिएको छ। अतिरिक्त क्रियाकलापमा पनि विद्यालयको सशक्त उपस्थिति रहेको छ—नगर, जिल्ला तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा समेत विद्यार्थीहरूको उल्लेखनीय सहभागिता र उपलब्धि रहँदै आएको छ।

पुरस्कार र सम्मानको गौरवशाली इतिहास

ज्ञान ज्योति मावि स्थापनाको दोस्रो वर्षमै (२०६७ साल) शिक्षा मन्त्रालयबाट उत्कृष्ट विद्यालय को उपाधिसहित सम्मानित भएको थियो। त्यसयता विद्यालयले २०६९ देखि २०७५ सालसम्म लगातार उत्कृष्ट विद्यालय पुरस्कार प्राप्त गर्दै आएको छ। २०७९ मा देशकै उत्कृष्ट १५ माविमा सूचीकृत भए पनि हाल सातौँ स्थानमा उक्लिन सफल भएको हो।

सामाजिक उद्देश्यसहितको शिक्षा: सिइओ जिसीका अनुसार, विद्यालयको स्थापनाको मुख्य उद्देश्य आर्थिक अभावका कारण कोही पनि विद्यार्थी शिक्षाबाट बञ्चित नहोउन भन्ने रहेको छ। “पढ्न इच्छा र क्षमता हुने जो–कोहीका लागि गुणस्तरीय शिक्षा सुनिश्चित गर्नु नै हाम्रो लक्ष्य हो”, उनले बताए।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="