after_navbar

किवानिस क्लब अफ दाङ तुलसीपुरमा नयाँ नेतृत्व, अध्यक्षमा ओली


असार १४, २०८२


दाङ १४ असार । किवानिस क्लब अफ दाङ तुलसीपुरको नयाँ नेतृत्व चयन भएको छ। नयाँ नेतृत्व चयन भएसँगै शनिबार एक कार्यक्रमका बीच पद हस्तान्तरण गरिएको छ।

किवानिस क्लब अफ दाङ तुलसीपुरका वर्ष २०२४ का अध्यक्ष बिमलकुमार पौडेलको अध्यक्षता तथा केवानिस क्लब अफ डिभिजन ५ का लेफ्टिनेन्ट गभर्नर भूपाल रावतको प्रमुख आतिथ्यतामा नयाँ कार्यसमितिलाई पद हस्तान्तरण गरिएको हो।

वर्ष २०२४ का अध्यक्ष बिमलकुमार पौडेलले वर्ष २०२५ का अध्यक्ष शैलेन्द्रकुमार ओलीलाई पद हस्तान्तरण गरेका हुन्।

अध्यक्षमा ओली सँगै निवर्तमान अध्यक्ष बिमलकुमार पौडेल, उपाध्यक्ष मनिष शाह , सचिव सन्दिप भुसाल र कोषाध्यक्ष केशवराज न्यौपाने रहेको नयाँ कार्यसमिति बनाइएको छ।

पद हस्तान्तरण कार्यक्रममा सहभागी वक्ताहरूले संस्थागत एकता, समन्वय र दीर्घकालीन असर पार्ने सेवामूलक कार्यक्रमलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए।

कार्यक्रममा इभरेष्ट क्लब अफ किवानिसकी सुस्मा लामिछाने गिरी र लर्ड बुद्ध क्लबकी नारायणी राजौरेले क्लबहरूबीच समन्वयको कमी महसुस भएको बताउँदै एकता बलियो बनाउन सुझाव दिए।

किवानिस क्लब अफ मेट्रोका अध्यक्ष हेमराज डाँगीले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

पूर्वअध्यक्ष बिमल कुमार पौडेलले कानुनी जटिलताबीच पनि योजना र कार्यक्रम सञ्चालन गर्न सके कोष सङ्कलनमा सहज रहेको बताए ।

उनले आफ्नै क्षेत्रका बालबालिकाको हितमा काम गर्न सके त्यसले राष्ट्रिय तहमा समेत सकारात्मक प्रभाव पार्ने धारणा राखे। उनले क्लब मर्ज गर्ने सुझावसमेत दिए।

राप्ती बबी क्याम्पसका उपप्राध्यापक सूर्य शर्माले बालबालिकासँग सम्बन्धित काममा सोचाइ परिवर्तन जरुरी भएको बताए।

उनले श्रम र पेशाप्रतिको सम्मानका संस्कार बालबालिकामा विकास गर्न र समाजमा रहेको ग्याप पहिचान गरी दीर्घकालीन असर पर्ने काम गर्नुपर्नेमा जोड दिए।

अप्टिमिष्ट क्लब डिभिजन ५ का मानबहादुर बस्नेतले सहकार्यलाई बलियो बनाउँदै प्रभावकारी कार्यक्रम सञ्चालन गर्न अनुरोध गरे। सल्लाहकार सुरेश हमालले एक वर्ष एउटै क्षेत्रमा लक्षित भएर योजना अघि बढाउन सुझाव दिए।

किवानिस क्लब डिभिजन ५ का चिल्ड्रेन फन्ड निर्देशक दमदार भण्डारीले क्लब मानवीय सेवाका लागि स्थापना भएको बताउँदै बालबालिकाको हितलाई केन्द्रमा राखेर काम गर्नुपर्ने धारणा राखे ।

कार्यक्रममा नयाँ कार्यसमितिका पदाधिकारीलाई प्रमाणपत्र वितरण गरिएको थियो।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="