झापा, १६ असार । झापाको अर्जुनधारा नगरपालिका–११ बसपार्कस्थित खड्का फर्निचरमा गएराति आगलागी हुँदा १२ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ।
मोतीबहादुर खड्काको स्वामित्वमा रहेको टिनको छानो र टिनको घेराबेरा गरिएको एकतले घरमा सञ्चालन भइरहेको फर्निचर पसलमा राति करिब साढे १२ बजेतिर आगलागी भएको हो। आगलागीबाट काठ चिर्ने मेसिनसहित पसलमा रहेका काठका सामग्री पूर्णरूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
आगो लागेको खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट बसपार्कबाट प्रहरी सहायक निरीक्षक नोरजंग लामाको कमाण्डमा प्रहरी टोली खटिएको थियो। प्रहरी र स्थानीयवासीको सहयोगमा बिर्तामोड नगरपालिकाको दमकल प्रयोग गरी आगो नियन्त्रणमा लिइएको थियो।
आगलागीको कारण अझै यकिन भइसकेको छैन भने विद्युत् सर्ट भएर आगो लागेको प्रारम्भिक अनुमान गरिएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस