दाङ,१६ असार। रोल्पाबाट दाङका लागि छुटेको जीप दुर्घटना भएको छ । दुर्घटनामा परी ६ जना घाइते भएका छन् ।
रोल्पाको गंगादेव गाउँपालिका-४ बसारेबाट दाङको तुलसीपुरका लागि छुटेको डबल क्याप जिप आज दिउँसो दुर्घटनामा परेको हो ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार रा.१ज.६३१ नम्बरको उक्त जिप त्रिवेणी गाउँपालिका-३ सुकिदहस्थित भीत्रि सडकखण्डमा अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेको हो। दुर्घटना दिउँसो करिब २ बजेतिर भएको बताइएको छ।
दुर्घटनामा परी गंगादेव गाउँपालिका-४ का २२ वर्षीय चन्द्र प्रकाश केसी, ३२ वर्षीय दीपक थापा, ३२ वर्षीय कमल डाँगी, २७ वर्षीय ढकाश थापा, ४३ वर्षीय वीरबहादुर थापा र २७ वर्षीया अमृता थापा घाइते भएका छन्।
घाइते सबैलाई उद्धार गरी उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पठाइएको छ। उनीहरूको अवस्था खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक विजय चापागाईंले जानकारी दिए।
दुर्घटनास्थलमा अस्थायी प्रहरी चौकी बुढागाउँबाट प्रहरी सहायक निरीक्षक राजकुमार घर्तीको कमाण्डमा खटिएको टोली र स्थानीय बासिन्दाहरूले घाइतेको उद्धार गरेका थिए।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस