after_navbar

जिल्लामा विपद् जोखिम बढ्यो, उच्च सतर्कता अपनाउन दाङ प्रशासनको अपील


असार १६, २०८२


दाङ,१६ असार । जिल्ला प्रशासन कार्यालय दाङले सबै स्थानीय तह र नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। सक्रिय मनसुनका कारण दाङमा बाढी, पहिरो र चट्याङको जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालयले सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।

जिल्ला प्रशासनले मिति २०८२ असार १६ गते जारी गरेको विपद् व्यवस्थापन सम्बन्धी जरुरी सूचनामा मौसम विज्ञान विभागले आगामी दिनमा भारी वर्षाको सम्भावना जनाएको उल्लेख गरिएको छ। यस्तो अवस्थामा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विपद्को समयमा विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ।

साथै, स्थानीय तहहरुलाई आ–आफ्नो भूगोलमा मनसुनजन्य पूर्वतयारी र प्रतिकार्य योजना कार्यान्वयन गर्न र स्थानीय सुरक्षा निकायहरूसँग समन्वय गरी तत्काल उद्धार तथा राहतका लागि तयारी अवस्थामा रहन भनिएको छ।

जिल्ला विपद् व्यवस्थापन समिति, रेडक्रस, विभिन्न सरकारी तथा गैरसरकारी संस्था, नागरिक समाज र अन्य सरोकारवाला निकायलाई विपद् प्रतिकार्यमा सक्रिय हुन तथा जिल्लामा रहेका साधनस्रोतको समन्वित उपयोग गर्न प्रशासनले आग्रह गरेको छ।

सञ्चारमाध्यमहरुलाई विपद् सम्बन्धी जानकारीको प्रचारप्रसारमा सहयोग गर्न र विपद् घटनाको तत्काल सूचना आदानप्रदान गर्न समेत अनुरोध गरिएको छ।

जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले सबै पक्षलाई जिम्मेवारी निर्वाह गरी आपत्कालीन व्यवस्थापनमा जुट्न अपील गरेका छन्।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="