after_navbar

जब इन्जिनियरको बिल वडा अध्यक्षले च्यातिदिए…


असार १७, २०८२


पर्वत ,१७ असार । पर्वतको कुश्मा नगरपालिका–१४ का वडा अध्यक्ष रुद्रमोहन रिमालले इन्जिनियरले तयार पारेको योजनाको बिल कार्यालयमै च्यातिदिएका छन्।

ad

नगरपालिकामा निर्माण व्यवसायमा समेत सक्रिय रहेका अध्यक्ष रिमालले प्राविधिकले काम भएकोभन्दा कम बिल उठाएको भन्दै सोमबार बिल च्यातिदिएका हुन्।

नगरपालिकाका एक कर्मचारीका अनुसार रिमालले आइतबार राति नै प्राविधिक शाखा प्रमुख राजेश बन्जारालाई पटक–पटक फोन र म्यासेजमार्फत धम्की दिएका थिए। सडक बोर्डबाट सञ्चालित योजनामा आफूले भनेअनुसार बिल नबनाएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका थिए।

‘मसँग दुश्मनी गर्ने कोही बचेका छैनन्’ भन्दै रिमालले धम्की दिएको र सोमबार कार्यालयमै पुगेर बिल च्यातिदिएको कर्मचारीहरूले बताए। बिल च्यातिएपछि नगरपालिकामा हंगामा भएको थियो।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेलले सरकारी कागजात च्यातेकोमा गम्भीर आपत्ति जनाउँदै रिमाललाई ‘तपाईं जनप्रतिनिधि हो कि निर्माण व्यवसायी पहिचान स्पष्ट पार्नुस्’ भनेका छन्। उनले सरकारी कर्मचारीहरूले टिका लगाएर जागिर खान नआएको भन्दै रोष पनि प्रकट गरे।

वडाध्यक्ष रिमालले भने योजनाको बिल निकै कम घटाइदिएको गुनासो राखेका छन्। वडाध्यक्षमा निर्वाचित भएपछि उनले आफ्नो निर्माण कम्पनी श्रीमतीको नाममा सारेर भूमिगत रूपमा उपभोक्ता समिति गठन गर्दै काम गर्दै आएको र ती योजनामा पटक–पटक अख्तियारमा मुद्दा परेको स्थानीयले बताएका छन्।

प्राविधिक शाखा प्रमुख बन्जाराले वडा अध्यक्षको हर्कत आपत्तिजनक रहेको बताए। ‘हामीले जति काम भएको छ, त्यति नै बिल बनाउने हो, नभएको कामको बिल बनाउन सकिँदैन,’ उनले भने।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="