after_navbar

१५ दिने अचार बनाउने तालिम सम्पन्न


असार १८, २०८२



दाङ,१८ असार । दाङको तुलसीपुरमा १५ दिने अचार बनाउने तालिम सम्पन्न भएको छ । लुम्बिनी प्रदेश अन्तर्गत सामाजिक विकास डिभिजन कार्यालय, तुलसीपुरको सहयोग तथा तुलसी सामाजिक विकास केन्द्रको आयोजनामा सञ्चालन भएको तालिमको बुधबार सम्पन्न गरिएको हो ।

तालिम तुलसी सामाजिक विकास केन्द्रका अध्यक्ष गणेश भण्डारीको अध्यक्षता तथा लुम्बिनी प्रदेश अन्तर्गत सामाजिक विकास डिभिजन कार्यालय तुलसीपुरका प्रमुख गिरिराज पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

तालिममा सहभागीहरुले उद्यमशिलताका लागि आफूहरुलाई प्रेरणा मिलेको बताएका छन् । उनीहरुले एड्भान्स तालिम सञ्चालन भएमा व्यवसायीक बन्नका लागि सहज हुने अपेक्षा राखेका थिए।

प्रमुख अतिथि पाण्डेले सहभागीहरूलाई उद्यमशील बन्न प्रेरित गर्दै लगनशिल बन्न अनुरोध गरे । भने, “एउटै शिक्षकले पढाउँदा कोही विद्यार्थी पास हुन्छन् भने कोही फेल, त्यसैले अरूको सहयोगले मात्र होइन, आफै तत्पर भएर अघि बढ्नुपर्छ। यो तालिमले त्यसको बाटो देखाएको छ।”

तालिममा सहभागी यमुना नेपालीले अचार बनाउने सीपमार्फत गृहिणीहरूलाई व्यवसायतर्फ उन्मुख गराउनुका साथै आत्मविश्वास जागृत भएको बताइन्।

तुलसीपुर उद्योग वाणिज्य संघका महासचिव केशवराज केसीले व्यवसायिक सोच भएका जो(कोहीलाई संघले साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

तुलसीपुर न्यायिक समिति सदस्य लालमती भण्डारीले तालिममा सहभागी महिलाहरूको समूह बनाएर व्यवसायिक अचार उत्पादन प्रारम्भ गर्न आग्रह गरिन्। साथै, त्यसका लागि तुलसीपुर उपमहानगरपालिकाले आवश्यक बजेट छुट्याउने प्रतिबद्धता पनि जनाइन्।

वडा नं ६ की सदस्य यमुना परियारले सिप सिकेका महिलाहरूलाई आयआर्जनसँग जोडेर अघि बढ्न आग्रह गर्दै तालिमको प्रभावकारी उपयोग गर्न सुझाव दिइन्।

शुशिला थापा मगरको प्रशिक्षणमा सम्पन्न उक्त तालिममा तुलसीपुरका विभिन्न वडाबाट ६२ जना महिलाहरूको सहभागिता रहेको थियो।

सहभागीहरूले साना उद्योगमार्फत आत्मनिर्भर बन्ने दिशामा तालिमले हौसला मिलेको प्रतिक्रिया दिएका छन्।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="