दाङ, २० असार। नेपालमा कोभिड–१९ को संक्रमण फेरि बढ्न थालेको छ। पछिल्लो समय विभिन्न जिल्लामा यसको फैलावट देखिन थालेको हो।
ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार २०७८ पुस १७ गतेदेखि २०८२ असार १९ गतेसम्म देशका ३१ जिल्लामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ।
हालसम्म २४९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ भने पछिल्लो एक सातामा मात्रै ३५ नयाँ संक्रमित फेला परेका छन्। पछिल्लो २४ घण्टामा तीन जनामा संक्रमण पुष्टि भएको छ। संक्रमणका कारण हालसम्म एक जनाको मृत्यु भइसकेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले संक्रमणको बढ्दो जोखिमलाई मध्यनजर गर्दै देशभरका १७ सीमा नाकामा रहेका हेल्थ डेस्कमार्फत निगरानीलाई थप कडा बनाइएको जानकारी दिए। उनका अनुसार सबै हेल्थ डेस्कमा कोभिड–१९ को आरडीटी परीक्षण भइरहेको छ।
स्वास्थ्य मन्त्रालयले कोभिड–१९ लगायत श्वास–प्रश्वासका माध्यमबाट सर्ने रोगबाट बच्न मास्क लगाउन, साबुनपानीले हात धुन वा स्यानिटाइजर प्रयोग गर्न र व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन अनुरोध गरेको छ।
त्यस्तै, प्रभावित क्षेत्रबाट आएका वा कोभिड–१९ का लक्षण देखिएका व्यक्तिलाई ‘सेल्फ क्वारेन्टिन’ वा आइसोलेसनमा बस्न पनि आग्रह गरिएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस