तेल अभिभ । इजरायल र इरानबीच शान्तिका संकेत देखिँदै गर्दा मध्यपूर्वमा फेरि तनाव चर्कने सङ्केत देखिएको छ। इजरायली सेनाले यमनको हुथी नियन्त्रित क्षेत्रमा भीषण हवाई आक्रमण गरेको छ।
इजरायलले ‘अपरेशन ब्ल्याक फ्ल्याग’ अन्तर्गत यमनको पश्चिमी भागमा रहेका तीन प्रमुख बन्दरगाहहरू– अल हुदैदाह, रास इसा र सलिफमा आक्रमण गरेको जनाएको छ। यसअघि इजरायलले इरानका आणविक स्थलहरूलाई निशाना बनाएको थियो।
आक्रमणअघि इजरायली सेनाले स्थानीय नागरिकलाई सुरक्षित स्थानमा जान चेतावनी जारी गरेको थियो। चेतावनीको केही घण्टामै व्यापक बमबारी सुरु भएको हो।
इजरायलका रक्षा मन्त्री इजरायल काट्जले आक्रमणको पुष्टि गर्दै भने, “हुथीहरूले जेसुकै कदम चालून्, उनीहरूले यसको मूल्य चुकाउनैपर्छ। यमन पनि इरानको जस्तै अवस्थामा पुग्नेछ। इजरायलविरुद्ध हात उठाउने जोकोहीको हात काटिनेछ।”
इजरायल रक्षा बल ९आईडीएफ० ले माइक्रोब्लगिङ साइट एक्समार्फत आक्रमणको कारण स्पष्ट गरेको छ। उसका अनुसार हुथी विद्रोहीहरूले इरानबाट हतियार आयात गरेर इजरायल र त्यसका साझेदारहरूविरुद्ध आतङ्क योजनामा संलग्न थिए। आक्रमणमा हुथी–नियन्त्रित पावर स्टेसन रस कनाटिबलाई पनि लक्षित गरिएको थियो, जसले इब्ब र ताइज शहरलाई बिजुली आपूर्ति गर्दै आएको थियो।
आईडीएफका अनुसार, गुप्तचर सूचनाका आधारमा अल हुदैदाह, रास इसा, सलिफ बन्दरगाह र रस कनाटिब पावर प्लान्टमा रहेका हुथीहरूका हतियार भण्डारण र आतंकवादी आधारशिविरमा आक्रमण गरिएको हो। ती स्थानहरू इरानी हतियारको आपूर्ति र ड्रोन तथा मिसाइलद्वारा आक्रमणका लागि प्रयोग भइरहेको दाबी गरिएको छ।
आक्रमणमा २०२३ मा हुथीहरूले कब्जा गरेको ‘ग्यालेक्सी लिडर’ जहाजलाई समेत लक्षित गरिएको बताइएको छ। यो जहाजमा हुथीहरूले अन्तर्राष्ट्रिय जहाजहरूको निगरानीका लागि राडार प्रणाली जडान गरेका थिए।
हुथीहरू नजिकका मिडियाले हुदैदाह बन्दरगाहमा आक्रमण भएको पुष्टि गरेका छन्। तर अन्य क्षेत्रका आक्रमणबारे कुनै टिप्पणी गरेका छैनन्। क्षति र हताहतको विवरण सार्वजनिक गरिएको छैन।
समाचार एजेन्सी रोयटर्सका अनुसार, हुथी विद्रोहीहरूले आक्रमणपछि आफ्नो हवाई रक्षा प्रणाली सक्रिय भएको र केही मिसाइलले जवाफी कारबाही गरेको दाबी गरेका छन्।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस