काठमाडौँ ,२३ असार । नेकपा (एमाले)का सांसद किरणकुमार साहले रौतहटमा जिउँदै इँटा भट्टामा जलाएर हत्या गरिएको घटनामा दोषी ठहरिएका अफताब आलमलाई जन्मकैदको सजाय उल्ट्याउने न्यायाधीशहरूमाथि महाअभियोगको प्रक्रिया अघि बढाउन प्रस्ताव गरेका छन्।
प्रतिनिधि सभाको बैठकमा सोमबार बोल्दै सांसद साहले उच्च अदालत जनकपुरको वीरगन्ज इजलासले जिल्ला अदालतको जन्मकैदको फैसला उल्ट्याएर आलमलाई सफाइ दिएको निर्णयप्रति आपत्ति जनाए। “रौतहटको जघन्य हत्यामा दोषी ठहर भएका व्यक्तिलाई उच्च अदालतले सफाइ दिएको छ। यो निर्णय अहिले जनमानस र सञ्चारमाध्यममा राजनीतिक संरक्षणको नतिजा भएको भन्दै आलोचना भइरहेको छ,” उनले बताए।
उनले उक्त फैसला सुनाउने न्यायाधीश खुसीराम थारु र अर्जुन महर्जनमाथि महाअभियोग प्रक्रिया तत्काल अघि बढाउन सरकारसँग माग गरे। “यदि सरकार साँच्चिकै स्वतन्त्र र निष्पक्ष न्यायपालिका चाहन्छ भने र कुनै राजनीतिक हस्तक्षेप नभएको पुष्टि गर्न चाहन्छ भने सम्बन्धित न्यायाधीशहरूलाई महाअभियोग प्रक्रिया मार्फत जवाफदेही बनाउनुपर्छ,” साहले भने।
सांसद साहले यो निर्णयलाई लोकतन्त्र र न्याय प्रणालीमाथिको गम्भीर आक्रमणको रूपमा उल्लेख गर्दै गठबन्धन सरकारले आलमलाई संरक्षण गरेको सन्देश जनतामा गइरहेको बताए। “यदि आवश्यक कदम चालिएन भने सरकार आफैंले आलमलाई सफाइ दिएको मानिनेछ,” उनले चेतावनी दिए।
त्यसैगरी उनले राजनीतिक भागबन्डाका आधारमा न्यायाधीश नियुक्ति तुरुन्त बन्द गर्न पनि आग्रह गरे।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस