after_navbar

विपद् व्यवस्थापनमा प्रारम्भिक द्रुत लेखाजोखा महत्वपूर्ण


असार २३, २०८२


प्रकाश डाँगी,२३ दाङ। कुनै पनि विपद्बाट प्रभावित नागरिकलाई तत्काल मानवीय सहायता र उद्धार सेवा प्रभावकारी रूपमा उपलब्ध गराउन सरोकारवाला निकायहरूले विशेष ध्यान दिनुपर्नेमा जोड दिइएको छ।

ad

आन्तरिक मामिला तथा कानुन मन्त्रालय लुम्बिनी प्रदेशको आयोजनामा तथा नेपाल रेडक्रस सोसाइटीको सुपर परियोजनाको प्राविधिक सहयोगमा सुरु भएको तीन दिने कार्यशालामा सहभागीहरूले यस्तो धारणा व्यक्त गरेका हुन्।

“प्रारम्भिक द्रुत लेखाजोखा, सूचना व्यवस्थापन तथा मूलभूत मानवीय मापदण्ड” सम्बन्धी कार्यशाला भालुवाङमा सञ्चालन भइरहेको छ।

कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै वक्ताहरूले यो वर्षको मनसुनका कारण बाढी र पहिरोका जोखिम थप बढ्ने पूर्वानुमान रहेको उल्लेख गर्दै विपद् व्यवस्थापनका सम्पूर्ण चरणलाई प्रभावकारी बनाउनु पर्ने आवश्यकता औंल्याए।

लुम्बिनी प्रदेशका जिल्लाहरू अघिल्ला वर्षहरूमा भन्दा बढी प्रभावित हुने सम्भावना भएकाले उद्धार, राहत तथा मानवीय सहायता समयमै पुर्‍याउन द्रुत लेखाजोखा र सूचना व्यवस्थापनलाई प्राथमिकतामा राख्नुपर्ने उनीहरूको भनाइ थियो।

कार्यक्रममा लुम्बिनी प्रदेशअन्तर्गत सबै मन्त्रालयका विपद् सम्पर्क व्यक्ति तथा प्रतिनिधिहरू, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल रेडक्रस सोसाइटी लगायतका सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको छ।

कार्यक्रमको उद्घाटन गर्दै आन्तरिक मामिला तथा कानुन मन्त्रालय लुम्बिनी प्रदेशका सचिव लोकबहादुर सुनारले विपद् पूर्व तयारी र व्यवस्थापनका लागि प्रदेश सरकारले विभिन्न योजना सञ्चालन गरिरहेको जानकारी दिए।

उनले मनसुनको पूर्वानुमानलाई आधार बनाएर जिल्ला र स्थानीय तहसँग स्रोत र साधनको पहिचान भइरहेको र विपद् प्रतिकार्यका लागि प्रदेश सरकारले समन्वयकारी भूमिका निर्वाह गर्न तयार रहेको बताए।

नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशका अध्यक्ष लालप्रसाद पंगेनीले विपद्पछि क्षतिको तत्काल मूल्याङ्कन र प्रभावकारी प्रतिकार्यका लागि प्रारम्भिक द्रुत लेखाजोखाको प्रयोग महत्वपूर्ण हुने बताए। प्रदेश सरकार र स्थानीय तहबीच सहकार्य सुदृढ बनाउन यस कार्यक्रमले सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे।

तीन दिनसम्म सञ्चालन हुने कार्यशालामा प्रारम्भिक द्रुत लेखाजोखा, सूचना व्यवस्थापन र मूलभूत मानवीय मापदण्डका विविध पक्षमा छलफल गरिने छ।

कार्यक्रमको अध्यक्षता सचिव लोकबहादुर सुनारले गरेका थिए। आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव कृष्णप्रसाद नेपालको स्वागत मन्तव्यबाट सुरु भएको उद्घाटन सत्रको सहजकर्ता लुम्बिनी प्रदेश आपतकालीन कार्यसञ्चालन केन्द्रका विजयसिंह ठकुरी थिए।

नेपाल रेडक्रस सोसाइटी केन्द्रीय विपद् व्यवस्थापन विभागका शेरबहादुर कार्की र अजन्ता ढकालले सत्र सञ्चालन र प्रशिक्षणको जिम्मेवारी लिएका छन्।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="