काठमाडौं,२४ असार । मोरङको रतुवामाई नगरपालिका–६ मा अंशबंटवारा विवाद चर्किएपछि देवरले भाउजूको हत्या गरेका छन्।
मोरङ प्रहरीका अनुसार ६९ वर्षीय टंकबहादुर बस्नेतले आफ्ना दाजु गणेशबहादुर बस्नेतकी ६० वर्षीया पत्नी टीकामाया कार्की बस्नेतलाई हत्या गरेका हुन्।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी कोपिला चुँडालले मृतक टीकामाया बोल्न नसक्ने र इसाराले मात्रै कुरा गर्ने व्यक्ति रहेको जानकारी दिइन्। असार २१ गते दिउँसो आफ्नै बारीमा घाँस काट्न गएकी टीकामायाको शव फेला परेको थियो। उनको टाउको पछाडि घुच्चुकमा गहिरो चोट लागेको पाइएको छ।
विराटनगरस्थित कोशी अस्पतालमा पोस्टमार्टम गर्दा मृत्यु चोटकै कारण भएको पुष्टि भएपछि इलाका प्रहरी कार्यालय सिजुवाबाट इन्स्पेक्टर होमप्रसाद अधिकारी नेतृत्वको टोलीले अनुसन्धान सुरु गरेको थियो।
अनुसन्धानमा लामो समयदेखि दाजु–भाइबीच अंश विवाद रहेको खुलेको छ। पुर्खौली सम्पत्तिको हक माग्दा गणेशले अदालतको शरण लिएका थिए र अंश पाउने फैसला समेत भएको प्रहरीले जनाएको छ। त्यसपछि विवाद झन् चर्किएर टंक क्रोधित बनेको पाइएको छ।
डीएसपी चुँडालका अनुसार अंश नदिन खोजेको रिसइबी साँधेर टंकले हँसियाको बिँडले प्रहार गरी भाउजूको हत्या गरेका हुन्। यसअघि पनि उनले टीकामायालाई पटक–पटक गालीगलौज र कुटपिट गर्न खोज्ने गरेको तथ्य खुलेको छ।
घटनाको दुई दिनपछि सोमबार दिउँसो टंकलाई आफ्नै घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। हत्या गर्न प्रयोग गरिएको हँसिया समेत टंककै घरबाट बरामद गरिएको छ।
टंकविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरी अदालतबाट म्याद थप गरेर थप अनुसन्धान अघि बढाइएको छ। इन्स्पेक्टर अधिकारीको टोलीले घटनाका सबै पक्षमा अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस