काठमाडौँ,२५ असार । भारतको गुजरात राज्यमा आनन्द र पाद्रालाई जोड्ने पुलको बीचको भाग भत्किँदा कम्तीमा ९ जनाको मृत्यु भएको छ। घटनामा अन्य ९ जनाको उद्धार गरिएको गुजरातको बडोदरा प्रहरीले जानकारी दिएको छ।
बडोदरा प्रहरीका अधिकारी रोहन आनन्दका अनुसार, “अझै दुईवटा ट्रक पानीमा छन्। ती ट्रकलाई बाहिर निकालेपछि मात्रै त्यहाँ कसैको जीवित वा मृत अवस्था थाहा हुनेछ।”
बीबीसी गुजरातीका अनुसार, बुधबार बिहान बडोदरा जिल्लाको बाहिरी क्षेत्रमा मही नदीमाथि बनेको उक्त पुल भत्किँदा धेरै सवारी साधन नदीमा खसेका थिए।
घटनाको खबर पाएलगत्तै स्थानीय प्रशासनले राहत तथा उद्धार कार्य सुरु गरेको छ।
सडक तथा भवन विभागका मुख्य अभियन्ता सीपी पटेलले पुल सन् १९८५ मा निर्माण भएर सञ्चालनमा आएको जानकारी दिए। दुर्घटनाको कारणबारे उनले भने, “यसको जाँच भइरहेको छ। निरीक्षणको विवरण र जाँच पूरा भएपछि मात्रै यकिन रुपमा भन्न सकिन्छ।”
उनले थपे, “हामी सबै पुलहरूको मनसुनअघि र मनसुनपछि नियमित निरीक्षण गर्छौं। रेकर्डको अध्ययनपछि मात्रै यस पुलको अवस्था कस्तो थियो भन्ने खुल्नेछ।”
प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै एक विज्ञप्तिमा जनधनको क्षति अत्यन्त पीडादायी भएको बताएका छन्।
प्रधानमन्त्री मोदीले आफ्नो एक्स (पूर्व ट्विटर) खातामा लेखेका छन्, “प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट प्रत्येक मृतकका परिवारलाई दुई लाख रुपैयाँ र घाइतेहरूलाई पचास हजार रुपैयाँ क्षतिपूर्ति प्रदान गरिनेछ।”
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस