बाँके,२६ असार। बाँके जिल्लामा रहेको सामुदायिक र राष्ट्रिय वन क्षेत्रबाट हरेक वर्ष झण्डै तीन लाख ४० हजार क्युफिट काठ तथा दाउरा उत्पादन हुने गरेको छ। डिभिजन वन कार्यालय बाँकेका अनुसार काठ उत्पादनमा सामुदायिक वनको हिस्सेदारी उल्लेखनीय छ।
सिनियर डिभिजनल वन अधिकृत शंकरप्रसाद गुप्ताका अनुसार, वार्षिक उत्पादनमध्ये करिब अढाई लाख क्युफिट काठ सामुदायिक वनबाट आउँछ भने बाँकी ९० हजार क्युफिट काठ राष्ट्रिय वनबाट प्राप्त हुन्छ। सामुदायिक वनबाट संकलन भएको काठ उपभोक्ता समूहले आन्तरिक खपतका लागि प्रयोग गरेपछि बाँकी परिमाण लिलामी प्रक्रियाबाट बिक्री गरिन्छ।
“साल, सागुन, खयर, सिंदुरे, दब्दबे जस्ता बहुमूल्य काठ उत्पादन भइरहेका छन्,” अधिकृत गुप्ताले बताए। उनले थपे, “खयरको काठ कत्था उत्पादनका लागि फ्याक्ट्रीमा प्रशोधन गरेर निर्यात गरिन्छ भने साल र सागुन झ्याल–ढोका र फर्निचर निर्माणमा प्रमुखतासाथ प्रयोग हुँदै आएको छ।”
तर, गुप्ताका अनुसार हाल नेपाली काठको निर्यात चुनौतीपूर्ण छ। ५० प्रतिशत निकासी करका कारण नेपाली काठ अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने अवस्थामा छैन। आन्तरिक रूपमा पनि काठको खपत घट्दो क्रममा छ। “फलाम र एल्युमिनियमका विकल्प लोकप्रिय बन्दै गएका कारण सर्वसाधारणले काठप्रति चासो कम देखाउन थालेका छन्,” उनले स्पष्ट पारे।
डिभिजन वन कार्यालय बाँकेका तथ्यांकअनुसार, जिल्लामा ११९ सामुदायिक वन सञ्चालनमा छन्, जहाँ ३४ हजार ७ घरधुरी आबद्ध छन्। साथै, ४ वटा धार्मिक वनमा ३४६ घरधुरी सामेल छन्। यी धार्मिक वनहरू धार्मिक प्रयोजनका लागि मात्र सीमित छन् र समुदाय स्वयंले यसको संरक्षण तथा व्यवस्थापन गरिरहेका छन्।
बाँकेमा डिभिजन वन कार्यालयको मातहत ६ वटा सब(डिभिजन कार्यालय छन्, जसले जिल्लाका आठवटा पालिकामा कार्यक्षेत्र विभाजन गरी वन व्यवस्थापन गर्दै आएका छन्। जिल्लाको सबैभन्दा ठूलो वन क्षेत्र राप्ती सोनारी गाउँपालिकामा छ, जहाँ ७९।८ प्रतिशत भूभाग वनले ढाकेको छ। यसको विपरित, जानकी गाउँपालिकामा वन क्षेत्र नगण्य ९एक प्रतिशतभन्दा पनि कम० छ भने नेपालगञ्ज उपमहानगरपालिका र खजुरा गाउँपालिकामा पनि वन क्षेत्र दुई प्रतिशतभन्दा कम मात्र रहेको जनाइएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस