दाङ,२६ असार । दाङको तुलसीपुरमा फोहोर व्यवस्थापन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। फोहोर व्यवस्थापनलाई व्यवस्थित गर्दै सक्रिय अर्थतन्त्र र शून्य फोहर प्रवर्धन गर्ने उद्देश्यले तुलसीपुरमा अन्तरक्रिया कार्यक्रम भएको हो।
तुलसीपुर उद्योग वाणिज्य सङ्घको आयोजना तथा सम्मानित रोजगारी परियोजना (इन्स्योर)को प्राविधिक सहयोगमा कार्यक्रम भएको थियो ।
कार्यक्रममा तुलसीपुर वाणिज्य संघका पूर्व अध्यक्ष एवं सल्लाहकार बिमल रिजालले वर्तमान समयमा फोहोर व्यवस्थापन सबैका लागि ठूलो चुनौती भएको उल्लेख गरे ।
उनले स्थानीय सरकारले फोहोरको शुल्क नलिईकन, बरु पुनःप्रयोग गर्न सकिने फोहोर व्यवसायीबाट किनिदिनुपर्ने धारणा राखे।
“फोहोरलाई समस्या होइन, अवसरको रूपमा लिनुपर्छ,” उनले भने, “सरकार आफ्नो दायित्वबाट चुकेको छ, नागरिकबाट फोहोर उठाएबापत त शुल्क लिने गरेको छ तर त्यसो गर्नु गलत हो। फोहोर लिएबापत नागरिकलाई शुल्क दिनुपर्छ। ”
कार्यक्रममा इन्स्योर परियोजनाका प्राविधिक संयोजक राजकुमार लेखी महर्जनले हरित अर्थतन्त्र र विश्वव्यापी चुनौतीमा रहेको फोहोर व्यवस्थापनको विषयलाई ध्यानमा राखेर यो कार्यक्रम आयोजना गरिएको जानकारी गराए।
फोहोर व्यवस्थापन अन्तर्गत फोहोरलाई सक्रिय अर्थतन्त्रमा कसरी प्रयोग गर्न सकिने पुनर्जकरणको प्रक्रिया कस्तो हुने र सुरक्षित रुपमा कसरी नष्ट गर्ने भन्ने विषयमा छलफल तथा अन्तरक्रिया हुने उनको भनाइ थियो ।
पछिल्लो समय फोहोर व्यवस्थापन सबैको चुनौतीको विषय भएकोले यस कार्यक्रम मार्फत उद्योगी तथा व्यवसायीलाई आफ्नो उद्योग तथा व्यवसायबाट निस्किएको फोहोरलाई व्यवस्थापन गर्न सकिने बताएका थिए।
उक्त अन्तरक्रिया कार्यक्रममा फोहोरलाई पुनःप्रयोग गर्ने (जस्तै, नफुटेका प्याकेजिङ्ग वा प्लास्टिकलाई सरसफाइ सामग्री बनाउने), रिसाइकल गर्ने (धातु, कागज, प्लास्टिकलाई पुनः प्रशोधन गरेर नयाँ उत्पादन तयार गर्ने) र अन्तिम विकल्पका रूपमा सुरक्षित डिस्पोज गर्ने (जैविक फोहोरलाई मलमा परिणत गर्ने वा वैज्ञानिक विधिबाट नष्ट गर्ने) उपायहरूको व्याख्या गरिएको थियो ।
यसरी फोहोर व्यवस्थापन अन्तर्गत यी विधिहरू अपनाउँदा स्थानीय स्तरमै रोजगारी सिर्जना हुने र चक्रिय अर्थतन्त्रमा योगदान पुग्ने बताइएको थियो।
कार्यक्रममा सहभागी साना तथा मझौला उद्योग व्यवसायीलाई फोहोर व्यवस्थापनका सीप र व्यवसायका अवसरबारे प्रशिक्षण दिइएको थियो।
प्रशिक्षक दिनेश प्रसाद शाह र राजकुमार लेखी महर्जनले फोहोर व्यवस्थापनलाई आम्दानीको स्रोत बनाउन सकिने विधिबारे विस्तृत जानकारी प्रस्तुत गरेका थिए।
तुलसीपुर उद्योग वाणिज्य संघका प्रेस सल्लाहकार शरद रेग्मीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण महासचिव केशवराज केसीले गरेका थिए।
कार्यक्रममा व्यवसायीहरूले आफ्ना अनुभव र चुनौतिहरूका विषयमा पनि छलफल गरेका थिए। कार्यक्रम तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बिनील केसीको अध्यक्षतामा सम्पन्न भएको थियो।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस