after_navbar

पत्रकारमाथि मेयर समर्थकहरूको दुर्व्यवहार,प्रहरीमा उजुरी


असार २७, २०८२



काठमाडौं, २७ असार। धरानमा मेयर हर्क साम्पाङका समर्थकहरूले समाचार संकलनका लागि पुगेका पत्रकारमाथि दुर्व्यवहार गरेका छन्।

ad

धरान–५ र १५ का स्थानीयवासीबीचको विवादको रिपोर्टिङ गर्न पुगेका पत्रकारलाई उनीहरूले दुर्व्यवहार गरेका हुन्।

बिहीबार समाचार संकलनका लागि गएका नेपाल पत्रकार महासंघका सदस्य तथा कोले न्यूज डटकमका सञ्चालक रोहित कुलुङ राई, कपुरी न्यूजकी रश्मि प्रधान र पत्रकार डेविट बस्नेतमाथि अभद्र व्यवहार भएको हो। दुर्व्यवहारपछि पत्रकारहरूले इलाका प्रहरी कार्यालयमा उजुरी दिएका छन्।

सेउती खोलामा आउने बाढीलाई च्यानलाइज गर्ने भन्दै मेयर साम्पाङले जेसीभी लगेर काम सुरु गरेका थिए। सो क्रममा दुई वडाका स्थानीयवासीबीच विवाद चर्किएको थियो। दुई समूहबीच झडपको अवस्था बनेपछि आफूहरू समाचार संकलनमा पुगेको रोहित कुलुङ राईले बताए।

“विवाद भइरहेको दृश्य म भिडियो खिचिरहेको थिएँ। एक जना व्यक्ति मेरै कानसम्म आएर ‘किन भिडियो खिचेको ?’ भन्दै गाली गर्न थाले। त्यसपछि केही महिलाहरूलाई बोलाएर दुर्व्यवहार गरियो,” राईले भने।

पत्रकारहरूले धरान–५ सुन्दर बस्तीका अन्दाजी ३५ वर्षीय कवि याख्खा, सोही स्थानका करिब ५५ वर्षीय मणिराज राई र परिचय नखुलेका दुई महिलाविरुद्ध उजुरी दिएका छन्।

इलाका प्रहरी कार्यालय धरानले उजुरीका आधारमा आवश्यक कारबाही प्रक्रिया अघि बढाइने जनाएको छ।

यस घटनाप्रति नेपाल पत्रकार महासंघ सुनसरीले विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="