बैतडी, २८ असार। बैतडीमा जीप दुर्घटना हुदा दुईजनाको मृत्यु भएको छ भने छजना घाइते भएका छन् । बैतडीको पाटन–६ स्थित खिपालीमा शनिबार बिहान जीप दुर्घटना भएको हो।
धनगढीबाट दार्चुलाको गन्नातर्फ जाँदै गरेको सुपप्र ०४–००१ज १३७२ नम्बरको जीप बिहान साढे ५ बजे सडकबाट करिब १०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
दुर्घटनामा डिलासैनी गाउँपालिका–१ का २४ वर्षीय चालक सन्तोषबहादुर राना र ३२ वर्षीय किरण बोहराको ज्यान गएको प्रहरी निरीक्षक एवं कार्यालयका प्रवक्ता बलराम पाण्डेयले जानकारी दिए।
घाइते हुनेमा डिलासैनी–१ का ४५ वर्षीय रामकुमार राना, २१ वर्षीया भागरती खत्री र उनकी दुई वर्षीया छोरी एलिसा, २१ वर्षीय हेमन्तप्रसाद भट्ट, २७ वर्षीय राजेन्द्रबहादुर खत्री र ५१ वर्षीया कमला धामी रहेका छन्।
घाइतेमध्ये राजेन्द्रबहादुर खत्री र कमला धामीको अवस्था गम्भीर भएकाले थप उपचारका लागि धनगढी पठाइएको प्रहरीले बताएको छ।
दुर्घटनाको खबर पाउनेबित्तिकै इलाका प्रहरी कार्यालय पाटन र स्थानीयवासी उद्धारमा जुटेका थिए। घटनाको कारण भने हालसम्म खुल्न नसकेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस