एजेन्सी । अमेरिकी रक्षा मन्त्रालयले इरानको हवाई आक्रमणका कारण कतारमा रहेको अमेरिकी अल उदेइद हवाई अड्डामा केही क्षति पुगेको जनाएको छ।
मन्त्रालयका प्रवक्ता सीन पार्नेलका अनुसार २३ जुनमा भएको घटनामा अमेरिका र कतारको संयुक्त वायु रक्षा प्रणालीले अधिकांश इरानी क्षेप्यास्त्रहरू नष्ट गर्न सफल भए पनि एउटा ब्यालिस्टिक क्षेप्यास्त्र भने एयर बेसमा खसेको थियो।
उनले बताएअनुसार आक्रमणका कारण आधारभूत संरचना र केही उपकरणमा सानो क्षति भएको हो तर कुनै घाइतेको खबर छैन। घटनापछि पनि यो एयर बेस पूर्ण रूपमा सञ्चालनमै रहेको र कतारसँगको सहकार्यमा सुरक्षा र स्थिरता कायम राख्ने काममा सक्षम रहेको जानकारी दिइएको छ।
बीबीसी फारसीको एक तथ्य-जाँच टोलीले हमलाअघि र पछिका उपग्रह तस्बिरहरूको अध्ययन गरेको छ। तस्बिरमा एयर बेसको एन्टेना क्षेत्रमा क्षति पुगेको र केही भवनमा पनि असर परेको देखिएको छ।
यसअघि इजरायलले इरानका थुप्रै सैन्य र आणविक केन्द्रमा आक्रमण गरेको थियो। त्यसपछिका १२ दिन दुई देशबीच झडप चलेको थियो।
यो द्वन्द्वमा संयुक्त राज्य अमेरिका पनि प्रत्यक्ष संलग्न भएको र इरानका तीन आणविक स्थल—फोर्डो, नातान्ज र इस्फहानमाथि कारबाही गरेको बताइएको छ। जवाफस्वरूप इरानले अल उदेइद एयर बेसलाई निशाना बनाएको हो।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस