काठमाडौं,२८ असार । डलर साटिदिन्छु भनेर ठगी गरेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ धार्पा घर भई भक्तपुर चाँगुनारायण नगरपालिका–१ बोडे बस्ने २८ वर्षीय पर्वत तामाङ उर्फ कर्म वाङ्गेल पाइन, २५ वर्षीय प्रकाश तामाङ उर्फ सूर्यबहादुर पाइन, ३६ वर्षीय सागर उर्फ सन्तबिर पाइन, र ललितपुर महानगरपालिका–१६ धापाखेल बस्ने ३५ वर्षीय विष्णु कुमार रुम्बा रहेका छन्।
उनीहरूले पीडितलाई आफूहरूसँग ६ हजार अमेरिकी डलर रहेको र त्यसबापत ७ लाख नेपाली रुपैयाँ दिनुपर्ने प्रलोभन देखाएका थिए। असार २२ गते भक्तपुरको चाँगुनारायण नगरपालिका–४ हलछापस्थित जंगलमा लगेर नक्कली पेस्तोल देखाई पीडितको साथमा रहेको मोबाइल र ७ लाख रुपैयाँ नगद लुटेर फरार भएको प्रहरीको भनाइ छ।
उक्त घटनामा संलग्न अभियुक्तहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान शाखा कार्यालय भक्तपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।
उनीहरूको साथबाट बा ७६ प ५९३१ नम्बरको स्कुटर, बागमती प्रदेश ०२–०५३ प २७८० नम्बरको मोटरसाइकल, नगद ६४ हजार ४० रुपैयाँ, एक थान चेक र १० थान मोबाइलसमेत बरामद गरिएको छ।
पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको प्रहरीले जनाएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस