काठमाडौँ ,२८ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सत्तासाझेदारीको सहमति अनुसार नै अघि बढ्ने स्पष्ट पारेका छन्।
कनकाई नगरपालिकामा भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपत्र (धनीपूर्जा) वितरण कार्यक्रममा बोल्दै उनले सरकारबारे भइरहेका विभिन्न अड्कलबाजीलाई खारेज गरे।
“सरकार ढल्छ भनेर कराउनेहरूले जे भने पनि हामी सहमतिअनुसार सत्तागठबन्ध (सत्तासाझेदारी) मा अघि बढिरहेका छौं,” प्रधानमन्त्री ओलीले भने, “म प्रधानमन्त्रीको रूपमा एक वर्ष अझै काम गर्छु र त्यसपछि नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई जिम्मेवारी हस्तान्तरण हुनेछ। चुनावसम्म यो यात्रा निरन्तर रहन्छ।”
धनीपूर्जा वितरण कार्यक्रम भूमि समस्या समाधान आयोग, जिल्ला समितिले आयोजना गरेको हो। कार्यक्रममा दुई सय भूमिहीनलाई प्रमाणपत्र वितरण गरिएको छ। प्रधानमन्त्री ओलीले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा पाउनु ठूलो उपलब्धि भएको उल्लेख गरे।
“अब जमिन खेर जान नदिई ठूलो चक बनाएर व्यावसायिक खेतीमा लाग्नुपर्छ,” उनले आग्रह गरे, “यसले आर्थिक समृद्धिमा योगदान पुग्नेछ।”
प्रधानमन्त्री ओलीले शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा सरकारले उल्लेख्य सुधार गरेको दाबी गर्दै थप परिवर्तनका लागि सरकार क्रियाशील रहेको बताए।
कार्यक्रममा आयोगका अध्यक्ष हरि रिजालले पूर्वदेखि पश्चिम महाकालीसम्म भूमिहीनलाई क्रमशः धनीपूर्जा वितरण गरिने जानकारी दिए।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस