काठमाडौँ,२९ असार । हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिमतर्फ सामान्य भन्दा केही उत्तरतिर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
देशका पहाडी भू–भागमा सामान्यतया बदली रहँदा अन्य क्षेत्रमा आंशिक बदलीको अवस्था छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आइतबार पनि देशभर सामान्यतया बदली रहनेछ। सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।
देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।
सम्भावित वर्षाका कारण भू–क्षय, बाढी, पहिरो र गेग्रान बहावको जोखिम रहन सक्ने भएकाले सहरी तथा तराई क्षेत्रमा डुबानको खतरा रहेको महाशाखाले जनाएको छ। साथै ठूला–साना नदी, नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता र पूर्वतयारी अपनाउन सर्वसाधारण तथा सम्बन्धित निकायलाई अनुरोध गरिएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस