after_navbar

मजदुरी गरेर बनाएको घर काम लागेन कमलालाई, अन्ततः छाउगोठले लियो ज्यान


असार २, २०८२


कञ्चनपुर, २९ असार। भारतमा मजदुरी गरेर कमाएको पैसाले पक्की घर बनाएकी थिइन् कमला आउजीले। महिनावारीको समयमा छाउगोठमा सुत्न बाध्य भएकी उनी त्यही गोठमै सधैंका लागि ओझेल परिन्। जसोतसो गरेर बनाएको घर उनलाई काम लागेन ।

कृष्णपुर नगरपालिका–१ निगालीकी २८ वर्षीया कमला आउजी गत वैशाखमा श्रीमानसँगै भारतबाट फर्किएकी हुन्। घर फर्केर छोरालाई विद्यालय भर्ना गराएकी थिइन्। तीन छोरा—६, ८ र १२ वर्षका। कमलाको मनमा सधैं आफ्ना बच्चाहरूलाई राम्रो भविष्य दिने ठूलो सपना थियो।

शुक्रबार साँझ महिनावारी भएपछि उनी आफ्नै आँगनमा बनाएको छाउगोठमा बस्न गइन्। तर पानी परेपछि त्यो चुहिन थालेपछि छिमेकी सुके आउजीको घरको छाउगोठमा गएर सुतिन्। रातको करिब साढे १२ बजे सुतिरहेको बेला करेत सर्पले बाँया गालामा डस्यो।

सर्पको डसाइ भएपछि बोल्न सक्ने अवस्थामा रहेकी उनले छरछिमेकीलाई खबर गरिन्। तत्काल अटोरिक्सामा राखेर सेती प्रादेशिक अस्पताल पुर्याइयो। तर अस्पतालमा आईसीयू र भेन्टिलेटर खाली थिएन। झन्डै डेढ घण्टा कुर्नुपरेपछि मात्रै उपचार सुरु भयो। तर समयमै उपचार हुन नसक्दा शनिबार साँझ ८ बजे उनको निधन भयो।

महिनावारीकै कारण छाउगोठमा सुत्न बाध्य भएकी आमाको ज्यान गयो र उनका तीन छोरा टुहुरा बने। श्रीमान अन्तिम संस्कार गर्न घर फर्किरहेका छन्। मृतक कमलाको शव अस्पतालको शवगृहमा राखिएको छ।

छाउपडी प्रथाको कारण सुदूरपश्चिमका थुप्रै महिलाले यस्तै गरी अकालमै ज्यान गुमाइरहेका छन्। सरकारले छाउगोठ भत्काउने र कुरीति अन्त्य गर्न अभियान चलाए पनि अझै यो कुप्रथा समाजमा गहिरो गरी बसिरहेको छ।

कृष्णपुर नगरपालिकाका मेयर हेमराज ओझाले अन्धविश्वासकै कारण यस्तो घटना भएको बताए। “हामीले छाउगोठ भत्काउने र सचेतना कार्यक्रम चलाएका थियौं, तर अझै यो गलत परम्परा हट्न सकेको छैन,” उनले भने।

छाउपडीविरुद्धकी अभियन्ता पशुपति कुँवर भन्छिन्, “कानुनले निषेध गरेको भए पनि यो हाम्रो परम्परा हो भन्ने सोचले महिलाहरूको ज्यान जोखिममा परिरहेको छ। यस्ता घटना दोहोरिन नदिन सबै सचेत हुनुपर्छ।”

मुलुकी अपराध संहिता अनुसार छाउपडी प्रथा दण्डनीय छ। कसैले महिनावारी वा सुत्केरी महिलालाई छाउगोठमा राखेमा तीन महिना जेल वा जरिवाना हुन्छ। तर कानुन भएर मात्रै पर्याप्त नभएको कञ्चनपुरको यो घटना फेरि एक पटक प्रमाण बनेको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="