दाङ,२९ असार । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरका प्रमुख सुरेश कुमार महतोले तुलसीपुर क्षेत्रमा सामान्य प्राविधिक समस्या बाहेक ठूलो किसिमको विद्युत समस्या नरहेको बताएका छन्।
आइतबार तुलसीपुर उद्योग वाणिज्य संघले आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
“तुलसीपुर र आसपासका क्षेत्रमा ठूला समस्या छैनन्। उनले भने -“नाङ्गो तार रुखका हाँगामा छोएर समस्या आउने गरेको छ, समाधानका लागि प्रक्रिया अघि बढिसकेको छ।”
उनका अनुसार केही प्राविधिक समस्या कालो केबल परिवर्तन गरी समाधान गरिनेछ।
कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विनिल केसीले विद्युतका कारण आगलागीका घटना दोहोरिने गरेको भन्दै प्रमुख महतोको ध्यानाकर्षण गराए। उनले प्राधिकरणलाई इन्सुलेटेड तारको प्रयोगबारे आम उपभोक्तालाई सचेतना दिने अभियान सञ्चालन गर्न सुझाव दिए।
“विद्युत उपभोक्ताले घरको वारिङ्ग क्षमताबारे जानकारी लिनु आवश्यक छ,” अध्यक्ष केसीले भने।
साथै उनले ‘सुन्दर तुलसीपुर, सुरक्षित तुलसीपुर’ अभियानमा विद्युत प्राधिकरणको सहकार्यको अपेक्षा व्यक्त गरे। तुलसीपुरले जडान गरेका हाईमास्ट बत्तीहरूको पनि नियमित अनुगमन गर्न आग्रह गरे।
कार्यक्रम संघका अध्यक्ष विनिल केसीको अध्यक्षतामा सम्पन्न भयो। संघका उपाध्यक्ष देव बहादुर केसीले स्वागत मन्तव्य राखेका थिए भने महासचिव केशवराज केसीले कार्यक्रमको सहजीकरण गरेका थिए।
यद्यपि, तुलसीपुर क्षेत्रमा पछिल्लो समय उपभोक्ताले पटक–पटक विद्युत अवरुद्धको समस्या भोग्दै आएका छन्। प्राधिकरणले ठूलो समस्या नभएको बताए पनि प्रयोगकर्ताहरू दैनिक रूपमा बारम्बार विद्युत सेवा अवरुद्ध हुँदा असन्तुष्ट बनेका छन्।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस