विराटनगर, ३० असार। सुनसरीको हरिनगर गाउँपालिका–६ मा गोली प्रहार गरी एक किशोरीको हत्या गरिएको छ।
आइतबार राति करिब १ बजे हरिनगर–६ घुस्कीमा १८ वर्षीया अर्सी खातुनलाई गोली हानी हत्या गरिएको सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिए।
प्रारम्भिक अनुसन्धानअनुसार भारतको पत्राहा पञ्चायत–१६ घुर्नाका २९ वर्षीय अजात मिया जटले ती किशोरीको टाउकोमा गोली प्रहार गरेका थिए।
गोली लागेर घटनास्थलमै खातुनको मृत्यु भएको हो। घटनास्थलमा गोलीको एउटा खोका समेत बरामद भएको प्रहरीले जनाएको छ। घटना लगत्तै मिया फरार भएका छन् र उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
हत्या किन गरिएको भन्ने विषय खुल्न बाँकी रहेको र थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक तिम्सिनाले जानकारी दिए। घटनास्थल भारतीय सीमा क्षेत्र नजिकै पर्छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस