दाङ,३० असार। क्यान्सरपीडितको नाममा समिति नै गठन गरी मासिक तलबमा कर्मचारी राखेर चन्दा उठाउने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ।
दाङ प्रहरीले आइतबार दिउँसो घोराहीबाट बिरामीको फोटो देखाउँदै रकम संकलन गरिरहेका हेटौंडा उपमहानगरपालिका–१८ का २७ वर्षीय ईश्वर अधिकारीलाई पक्राउ गरेको हो।
उनले बोनम्यारो क्यान्सर पीडित ललितपुरका ३७ वर्षीय युवराज भोलानको नाममा ‘युवराज भोलान बचाऊ अभियान समिति’ बनाएर सहयोग संकलन गरिरहेका थिए। प्रहरीका अनुसार यस अभियानको प्रमुख योजनाकार इटहरीका सुवास विक नामका युट्युबर हुन्।
एसपी अर्जुन तिमिल्सिनाका अनुसार सुवास विकले जिल्ला प्रशासन वा कुनै आधिकारिक अनुमति नलिई आफ्नै तर्फबाट रसिद छपाएर रकम संकलन थालेका थिए। मासिक १८ हजार तलब दिने सर्तमा १२ जना कर्मचारी खटाएर बाँके र दाङ क्षेत्रमा चन्दा उठाउँदै आएको पाइएको छ।
पक्राउ परेका अधिकारीले आफैंले ४० हजार रुपैयाँ संकलन गरेको बताएका छन्। तर ती रकम बिरामीलाई पुगेको छैन। पीडित युवराज भोलानले हालसम्म जम्मा २ हजार १ सय रुपैयाँ मात्र प्राप्त भएको बताएका छन्।
“मलाई कतैबाट संकलित रकमको जानकारी दिइएन, न त रकम नै बुझाइयो,” भोलानले भने।
प्रहरीले सोमबार बिहान ११ बजेसम्म संकलित रकम पीडित वा उनका आफन्तलाई बुझाउन समय दिएको थियो। तर सोमबार बेलुकासम्म पनि रकम नपुगेपछि अभद्र व्यवहारअन्तर्गत मुद्दा दर्ता गरेर अधिकारीलाई हिरासतमा राखिएको एसपी तिमिल्सिनाले बताए।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस