काठमाडौं, ३१ असार। अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण अवरुद्ध भएको बीपी राजमार्ग सञ्चालनमा आएको छ।
राजमार्गका विभिन्न ८ स्थानमा बाढी र पहिरोले सडक अवरुद्ध गरेपछि सोमबार रातिदेखि यातायात ठप्प भएको थियो। इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख ईश्वर कार्कीका अनुसार रोशी गाउँपालिका–९ पिन्थलीबेशी, मंगलटार बिरुवाडाँडामा रहेको फेदीखोला र साङखोला, रोशी–११ कालढुंगा, माम्ती खोला, पिप्ले र पानीतारे नजिक झरेका पहिरो हटाइएका छन्।
सडक विभाग र एवन निर्माण सेवाको सहयोगमा लेदो र माटो पन्छाई सडक सुचारु गरिएको कार्कीले जानकारी दिए। काभ्रे र सिन्धुलीको सिमाना बर्खेखोलामा बाढीले बिगारेको सडक पनि मर्मत गरिएको छ।
राजमार्ग सोमबार राति ८ बजेदेखि अवरुद्ध हुँदा सवारी साधन काभ्रे र सिन्धुली प्रहरीले होल्ड गरेका थिए। लगातारको वर्षाले राजमार्गमा पटक–पटक बाढी र पहिरोको समस्या देखिन थालेपछि यात्रुहरूलाई आवतजावतमा सास्ती हुन थालेको छ।
यसअघि पनि बीपी राजमार्गका विभिन्न खण्डमा वर्षाको कारण सडक अबरुद्ध भएको थियो।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस