काठमाडौं, ३१ असार । भक्तपुर मालपोत कार्यालयका दुई कर्मचारी साढे २४ लाख रुपैयाँ घुस सहित पक्राउ परेका छन्। मोहीको नाममा जग्गा पार्ने प्रयोजनका लागि सेवाग्रहीसँग साढे २४ लाख रुपैयाँ घुस लिँदै गर्दा रंगेहात पक्राउ परेका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्रमुख मालपोत अधिकृत कुमार आचार्य र कार्यालय सहयोगी टिकाराम राउतलाई नियन्त्रणमा लिएको हो।
चाँगुनारायण नगरपालिकास्थित १४ रोपनी ४ आना जग्गा मोही तलसिङको नाममा लगत कट्टा गरी नयाँ जग्गाधनी पूर्जा बनाइदिने भन्दै उनीहरूले घुस मागेको अख्तियारले जनाएको छ। सेवाग्रहीबाट रकम बुझ्दै गर्दा उनीहरूलाई सोमबार पक्राउ गरिएको हो।
पक्राउ परेका दुवै जनाको साथबाट साढे २४ लाख रुपैयाँ नगद र २ थान मोबाइल फोनसमेत बरामद गरिएको छ। अख्तियारले उनीहरूमाथि थप अनुसन्धान सुरु गरेको जनाएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस