after_navbar

दुई छोरीसहित एक वर्षदेखि गुफामा बसेकी रुसी महिला फेला


श्रावण ०१, २०८२


एजेन्सी। भारतको दक्षिणी राज्य कर्नाटकको सामातीर्थ पहाडमा एक रुसी महिला दुई छोरीसहित एक वर्षदेखि गुफामा बसिरहेको अवस्थामा फेला परेकी छन्। प्रहरी गस्तीका क्रममा गत ९ जुलाईमा उनीहरुलाई उद्धार गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

रुसी नागरिक ५० वर्षीया निना कुटिना सन् २०१७ मा भारत आएकी थिइन्। उनी बिजनेस भिसामा आएकी थिइन् तर भिसाको अवधि सकिएर पनि भारतमै बसेकी थिइन्। कुटिनाले नेपालसहित अन्य चार देशको यात्रा गरेकी थिइन्। सन् २०१८ को सेप्टेम्बरमा नेपाल पुगेकी उनी फेरि भारत फर्किएकी थिइन्।

प्रहरीका अनुसार निनाले भिसा नवीकरण नगरीकन कर्नाटकको सामातीर्थ पहाडमा गुफा बनाइ बसोबास गर्दै आएकी थिइन्। प्रहरीको बयानअनुसार उनी र उनका छोरी झरनामा नुहाएर, पेन्टिङ गरेर र कविता लेखेर दिन कटाउँथे।

“जंगलमा प्रकृतिसँग रमाएर बाँच्नु एउटा अद्भुत अनुभव हो। म मेरा छोरीलाई मार्न यहाँ ल्याएकी होइन। हामी जीवित रहनेछौं,” कुटिनाले उद्धारपछि प्रहरीलाई बताएकी छन्।

उनले छोरीहरुको बारेमा धेरै जानकारी दिन अस्वीकार गरेकी प्रहरीको भनाइ छ। भिसा अवधि सकिएको र कुनै कानुनी अनुमति नलिई बसोबास गरेको आरोपमा भारतीय प्रशासनले उनलाई अवैध आप्रवासीको सूचीमा राखेको छ।

प्रहरीले उनीहरुको स्वास्थ्य परीक्षण र अन्य कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="