after_navbar

अमेरिका दुर्घटना:डाक्टर बन्ने सपनासहित १० महिना अघि अमेरिका गएका थिए रोजिन


श्रावण ०१, २०८२


दाङ,३२ असार । अमेरिकामा हालै भएको कार दुर्घटनामा मृत्यु भएका दुई नेपाली विद्यार्थीमध्ये एक जना दाङका रहेको खुलेको छ।

जुलाई १३ तारिख शनिबार राति स्थानीय समयअनुसार ९ बजेतिर लुइसियाना राज्यको राजमार्ग ५०७ नजिक अमेरिकी राजमार्ग ८० मा कार दुर्घटना हुँदा नेपाली नागरिकद्वय २२ वर्षीय राजन यादव र २० वर्षीय रोजिन ओलीको मृत्यु भएको हो।

दुर्घटनामा ज्यान गुमाउने ओली दाङको तुलसीपुर उपमहानगरपालिका–४ रक्षाचौरका हुन्। उनका काका पोषण ओलीका अनुसार डाक्टर बन्ने ठूलो सपना बोकेर रोजिन १० महिना अघि मात्रै अध्ययनका लागि अमेरिका गएका थिए।

“घरमा बुवा–आमा र एक जना दाइ मात्रै छन्। भतिजाले भविष्य बनाउने लक्ष्यसहित अमेरिका पुगेको केही समयमै यस्तो दुःखद घटना हुन पुग्यो,” काका ओलीले दुखेसो पोखे।

रोजन र यादव दुवै लुइसियाना टेक युनिभर्सिटीमा अध्ययनरत थिए। दुर्घटनामा उनीहरूको घटनास्थलमै मृत्यु भएको हो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार हुरीबतास र ठूलो वर्षाका बीच उनीहरू सवार कार सडकबाट चिप्लिँदै रुखमा ठोक्किएर दुर्घटना भएको बताइएको छ।

यादवको स्थायी घर सर्लाहीतिर रहेको अनुमान गरिए पनि ठेगाना यकिन हुन नसकेको काका ओलीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="