after_navbar

११ कारण देखाउँदै जसपाले फिर्ता लियो सरकारलाई दिएको समर्थन: (यस्ता छन् कारण)


श्रावण ०१, २०८२


काठमाडौँ,३२ असार । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। साथै अब पार्टीले प्रतिपक्षमा बस्ने घोषणा गरेको छ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बुधबार बसेको संसदीय दलको बैठकले सरकारको कार्यसम्पादनको समीक्षा गर्दै यस्तो निर्णय गरेको हो। जसपाले सरकारलाई दिएको समर्थनको औचित्य नरहेको ठहर गर्दै ११ बुँदामा विभिन्न असफलता र कमजोरीका आरोप लगाएको छ।

जसपाका अनुसार यी कारणहरूले सरकार असफल प्रमाणित भएको छ र पार्टीले समर्थनलाई निरन्तरता दिनु अर्थहीन भएको निष्कर्ष निकालेको हो।

जसपाले सरकारमाथि लगाएका मुख्य ११ आरोप यस्ता छन्:

१. सुशासनको अभाव: सरकारले जनतालाई सुशासनको प्रत्याभूति दिन नसक्नु।
२. भ्रष्टाचार र अनियमितता :भ्रष्टाचार, अनियमितता, दण्डहीनता, कमिशनतन्त्र र बिचौलियाको चलखेल नियन्त्रण गर्न नसक्नु।
३. आर्थिक असफलता :मुलुकको अर्थतन्त्र सुधार गर्न र आर्थिक विकास अगाडि बढाउन असफल हुनु, साथै आर्थिक वर्ष २०८२/८३ को बजेट असन्तुलित र पूर्वाग्रही ढङ्गले ल्याउनु।
४. संघीयताको कार्यान्वयनमा निष्क्रियता : संघीयता कार्यान्वयनका लागि ठोस प्रयास नगर्नु।
५. गरिबी र बेरोजगारी अन्त्यमा असफलता: कृषि, उद्योग, पर्यटन र जलस्रोतको विकास गरी गरिबी र बेरोजगारी न्यूनीकरण गर्न नसक्नु।
६. सेवा प्रवाहमा कमजोरी: स्वच्छ खानेपानी, शिक्षा र स्वास्थ्य सेवा प्रभावकारी रूपमा उपलब्ध गराउन असफल हुनु।
७. सामाजिक न्यायको अभाव : मधेसी, आदिवासी जनजाति, दलित, महिला, थारू, अल्पसङ्ख्यक लगायत उत्पीडित समुदायका समस्या समाधान नगर्नु।
८. राजबन्दी रिहाइमा उदासीनता: मधेस, थरुहट र लिम्बुवान आन्दोलनका क्रममा झूटा मुद्दामा थुनिएका राजबन्दीहरूलाई रिहा नगर्नु।
९. संविधान संशोधनमा पहलविहीनता: संविधान संशोधनका लागि कुनै ठोस प्रयास नगर्नु।
१०. कृषक समस्यामा बेवास्ता: किसानलाई कृषि बजार, सिँचाइ, मलखाद, बीउबिजन र सहुलियत ऋण उपलब्ध गराउन असफल हुनु।
११. रोजगारी सृजनामा असफलता: बेरोजगारी समस्याको समाधानका लागि रोजगारीका अवसर सिर्जना गर्न नसक्नु।

जसपाले आफ्नो निर्णय अब संसदमा औपचारिक रूपमा प्रस्तुत गर्ने र प्रतिपक्षको भूमिकामा सक्रिय हुने जनाएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="