after_navbar

आज साउने सङ्क्रान्ति : लुतो फाल्ने दिन


श्रावण ०२, २०८२


काठमाडौँ, १ साउन । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान, लुतो फाल्ने र आफन्तसँग रमाइलो गरेर मनाइँदैछ।

सूर्यले मिथुन राशिको यात्रा पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन भएकाले साउने सङ्क्रान्तिको विशेष महत्त्व रहेको धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराई बताउँछन्। यही दिनदेखि सूर्य दक्षिणायन सुरु गर्छ भने माघ १ गतेदेखि उत्तरायण सुरु हुने मानिन्छ। यी दुई दिनलाई धार्मिक र सांस्कृतिक हिसाबले विशेष पर्वका रूपमा लिने गरिन्छ।

लुतो फाल्ने चलन: कृषिकर्ममा व्यस्त असार महिनाभरको हिलोमैलोका कारण लाग्ने छालासम्बन्धी रोग निको पार्न लुतो फाल्ने परम्परा रहिआएको हो। आजको दिनलाई स्वास्थ्य र शुद्धिकरणसँग पनि जोडिन्छ। लुतो फाल्दा विभिन्न वनस्पति—कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि प्रयोग गरिन्छ, जसले रोगनाशक औषधिको काम गर्छ।

साथै, परम्पराअनुसार ‘कण्डारक’ नामका राक्षसको पूजा गरेर अगुल्टो फाल्ने गरिन्छ। यो कार्य गर्दा नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्नेजस्ता कर्म गरिन्छ, जसले लुतो अर्थात नकारात्मक शक्ति टाढा भगाउने जनविश्वास छ।

शिवभक्तिको सुरुवात: साउन महिनालाई भगवान् शिवको आराधना गर्ने पवित्र महिनाका रूपमा लिने चलन छ। विशेषगरी महिलाले हरियो चुरा, हरियो पहिरन र रातो सजावटका माध्यमबाट प्रकृतिसँग नजिक भएको प्रदर्शन गर्छन्। यसै कारण साउन महिनामा हरियो र रातो चुरा तथा पहिरनको व्यापारसमेत बढ्ने गर्छ।

साउन १ गतेको दिन किसानहरू महिनौंको श्रमपछि आफन्तसँग भेटघाट र भोजभतेरसहित सामाजिक मेलमिलाप गर्ने अवसरका रूपमा लिन्छन्। गाउँघरमा विशेष चहलपहल रहने आजको दिन नेपाली समाजमा स्वास्थ्य, परम्परा, श्रद्धा र सामाजिक एकताको संगम बनेर आएको देखिन्छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="